Logo

चुनाव भए ओली भर्सेस विपक्षी गठबन्धन



काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ ।

चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? या दलहरु एक्ला एक्लै चुनावमा जान्छन् ? चासोको विषय बनेको छ ।

अहिलेसम्मको राजनीतिक घटनाक्रम हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट भएका छन् । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराई ओलीविरुद्ध छन् । तैपनि ओलीले नै एकपछि अर्को बाजी मारिरहेका छन् ।

चुनाव भएमा ओलीलाई सजिलो भने छैन । उनीविरुद्ध मुख्य दलहरु एकजुट भइरहेका छन् । चुनावसम्म यही गठबन्धन बनेमा ओली नेतृत्वको नेकपा एमालेलाई देशैभर चुनाव जित्न निकै कठिन पर्छ ।

विश्वस्त स्रोतका अनुसार विपक्षी गठबन्धनले चुनाव भएमा के गर्ने सम्मको रणनीति बनाएको छ । चुनावी गठबन्धनसमेत बनाउने र त्यसपछि सरकारको नेतृत्वसम्मको कुरा भएको छ ।

ओलीलाई चुनावमा पराजित गर्न नेपाली काँग्रेसले ५० या ६० प्रतिशत स्थानमा चुनाव लड्ने र बाँकी स्थानमा माओवादी, जसपा र माधव नेपाल समूहले चुनाव लड्नेसम्मको कुरा भएको बुझिएको छ । ६० र ४० को कुरा भएपनि ४५ मा सहमतिको नजिक पुगेको बुझिएको छ । काँग्रेसले ५५ र गठबन्धनका बाँकी दलहरुले ४५ सिटमा चुनाव लड्ने गरी गठबन्धनको सहमति नजिक कुरा पुगिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । आगामी चुनावमा ओलीलाई नराम्रो धक्का दिने सम्मको तयारी भएको विशवस्त स्रोतले जानकारी दिएको छ ।

यसअघिको चुनावमा ओलीले सफलता हासिल गर्नुमा एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धन मुख्य कारण थियो । त्यतिबेला माओवादीले पनि फाइदा लिएको थियो । तर, सबैभन्दा बढी फाइदा ओलीले लिएका थिए । चुनावबाट बनेको प्रतिनिधि सभाबाट उनी दुई तिहाईको प्रधानमन्त्री बनेका थिए । त्यतिबेला एक भएका कम्युनिस्टसँग चुनाव लड्नुपर्दा काँग्रेस ६३ सिटमा खुम्चिएको थियो । उसको भन्दा एमालेको झण्डै दोब्बर अर्थात् १२१ सिट हासिल भएको थियो । माओवादीले ५३ सिटमा प्राप्त गरेको थियो ।

आगामी चुनावमा भने फरक गठबन्धन हुने गरी राजनीति मोडिएको छ । यसपटक ओली भर्सेस बाँकी मुख्य नेताहरु देखिने अवस्था बनेको छ । ओलीको साथमा महन्थ ठाकुर र कमल थापाहरु हुने राजनीतिक घटना विकास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्