Logo

सरकारमा सहभागी हुने विषयमा जसपा ठाकुर पक्षमा भाँडभैलो, मन्त्री बन्न क-कसको नाम चर्चामा ?



काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षभित्र मन्त्री बन्ने विषयमा विवाद भएको छ । भोलि नै सरकारमा सहभागी हुने तयारी गरेका ठाकुर पक्षका नेताहरुबीच को को जाने भन्ने विषयमा विवाद भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको ठाकुर पक्षमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पनि विवाद छ । पछिल्लो समय राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी भएको बुझिएको थियो । तर, शरदसिंह भण्डारीले पनि सरकारमा जाने ईच्छा देखाएपछि विवाद बढेको हो ।

महतोले भने गृह मन्त्रालय मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजमात्रै अध्यक्ष ठाकुर र महतोले भेटवाता गरेका थिए । उक्त भेटवार्तामा सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको जानकारी दिएको छ । जसपाबाट मन्त्री बन्नेहरुमा महतो, भण्डारीसँगै विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, राजकिशोर यादवलगायतको नाम चर्चामा छ ।

अहिले जसपामा ठाकुर पक्षसँग २० जना सांसद छन् । अर्का अध्यक्ष उपेन्द्र यादवसँग १२ जना सांसद छन् । तर, जसपाको सर्वोच्च निकाय कार्यकारिणी समितिमा भने यादव पक्षको बहुमत छ । यादवले सरकारमा सहभागी भए पार्टीबाटै निश्काषन गर्ने चेतावनी दिएका छन् । कतिपय नेताले भने अब पार्टी फुटिसकेको बताउन थालेका छन् । ठाकुर पक्षले पूर्व राजपा नेपाल ब्युँताउने तयारी गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot