Logo

खड्काको निधनको १३औं पुण्यतिथिमा प्राइम टिभीमा श्रद्धाञ्जली सभाको आयोजना, ऋषि धमलाले भने-‘उहाँको सपना पूरा गर्छौं’



काठमाडौं, १८ जेठ । उद्योगपति तेजेन्द्र खड्काको निधनको आज १३औं पुण्यतिथि । यस अवसरमा आज प्राइम टाईम्स टेलिभिजनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । उक्त सभालाई टिभीका अध्यक्ष ऋषि धमला, खड्काका छोरा प्रेम र छोरी ईश्वरी खड्का, र टिभीका महाप्रबन्धक बैकुण्ठ ढुंगानाले सम्बोधन गरेका छन् ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै टिभीका अध्यक्ष धमलाले स्वर्गी खड्काले पत्रकारिता देश र जनताप्रति हुनुपर्छ भनेर देखाएको मार्गदर्शनलाई आफूहरुले आत्मसात् गरेको र आगामी दिनमा पनि यही मर्मलाई मूल मन्त्र बनाएर अघि बढ्ने विश्वास दिलाए ।

धमलाले भने-“कोभिडको कारण हामीले उहाँलाई गुमायौं, आज उहाँ हाम्रो बीचमा हुनुहुन्न, तर उहाँले देखाउनुभएको मार्गदर्शन सधैं प्रेरणाको स्रोत बन्नेछ । हामी उहाँको सोच र संकल्प पूरा गर्ने वाचा पनि गर्छौं । उहाँले भनेझैं यस प्राइम टिभीलाई हामी जनताको बीचमा सबैको साझा र लोकप्रिय बनाउँछौं । उहाँ जहिल्यैपनि पत्रकारिता देश र जनताको लागि हुनुपर्छ भनेर भन्नुहुन्थ्यो, आज हामीले कुशल अभिभावक गुमाएका छौं । आज प्राइम टिभी परिवार शोकमा छ । हामी शोकलाई शक्तिमा बदलेर अघि बढ्ने प्रणपनि गर्दछौं । दुःखको यस घडीमा म र प्राइम टिभीको सिंगो परिवार खड्काको परिवारको साथमै छौं ।”

धमलाले स्वर्गीय खड्का नेपालको उद्योग तथा व्यवसायको क्षेत्रमा छोटो समयमा सबैको प्रिय र सफल भएको पनि आज स्मरण गरे । धमलाले भने-‘ उहाँ जहिल्यैपनि श्रमजिवीको पक्षमा हुनुहुन्थ्यो, कोभिडकै कहरका बीचमा लकडकाउनका कारण उद्योग तथा कलकारखाना पूर्ण रुपमा बन्द हुँदापनि उहाँले आफ्नो उद्योग तथा व्यवसायमा आवद्ध कर्मचारीहरुको सेवा/सुविधामा कुनै रोक लगाउनुभएको थिएन । उहाँ अरु व्यवसायीहरुलाई पनि श्रमजिवीहरुको तलब नरोक्न सुझाव दिनुहुन्थ्यो ।कर्मचारीहरुलाई उहाँ भगवानको रुपमा लिनुहुन्थ्यो । र, व्यवहारमा पनि त्यो देखिन्थ्यो ।’

श्रद्धाञ्जली सभामा प्राइम टिभीकी सञ्चालक समेत रहेकी खड्काकी छोरी ईश्वरी खड्काले बुवाको सपना पूरा गर्न आफूहरुबाट शतप्रतिशत प्रयास हुने वाचा गरिन् । त्यस्तै, बुवाकै चाहनाअनुसार टिभीका अध्यक्ष ऋषि धमलाले काम गरेको भन्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले धमलालाई आग्रह गरेकी छिन् ।

कार्यक्रममा टिभीका महाप्रबन्धक बैकुण्ठ ढुंगानाले खड्काको अभाव आफूहरुलाई सधैं खड्किने बताए । ढुंगानाले खड्का सबैलाई माया र सम्मान गर्ने ठूलो हृदयको व्यक्तित्व भएको स्मरण गराए । उनले भने-‘उहाँ हंसमुखी हुनुहुन्थयो । सबैलाई माया गर्नुहुन्थ्यो । उहाँ आज हामीमाँझ हुनुहुन्न, तर उहाँले देखाउनुभएको सपना र बाटोमा हामी निरन्तर पाईला अघि बढाउनेछौं ।” कोरोना संक्रमणकै कारण खड्काको निधन भएको हो । उनकी श्रीमती सुन्तली खड्का र भाईको पनि केही पहिले कोरोना संक्रमणकै कारण निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्