Logo

लुम्बिनीको चुनावमा एमालेका ‘अन्तरघाती’को खोजी



काठमाडौं, १८ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेबाट भोट क्रस भएको निष्कर्ष आज बसेको स्थायी कमिटी बैठकले समेत निकालेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अन्तरघात भएकोबारे छानविन हुने जानकारी दिए । तर, क कस्ले अन्तरघात गरे भन्ने अझै पत्ता लगाउन सकिएको छैन ।

अन्तरघात भएको मत परिणामले पनि देखाएको छ । तर, गोप्य मतदान हुने भएकाले पत्ता लगाउन कठिन छ । शंकाको घेरामा केही प्रदेश सभा सांसद देखि स्थानीय निकायका जनप्रतिनिधिहरु समेत छन् । माधव नेपालनिकट रहेकाहरुमाथि शंकाको सुई तेर्सिएको छ ।

लुम्बिनीको हिजोको चुनावको नतिजा भन्दा पनि उम्मेदवारहरुको पृष्ठभूमि रोचक छ । विजयी दृगनारायण पाण्डेय कुनैबेला एमाले प्रदेश सभा सांसद थिए । उनी राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पराजित चन्द्रबहादुर खड्का माओवादी केन्द्रबाट राष्ट्रियसभा सांसद थिए । उनीमाथि कारबाही भएपछि सांसद पद खाली थियो । एमालेले उनैलाई उम्मेदवारका रुपमा खडा गरेको थियो ।

पूर्वएमाले नेता पाण्डेय रुख चिन्हबाट विजय बन्दा उनले काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, उपेन्द्र यादव समूहको जसपाबाट मात्र मत पाएनन् एमालेको माधव नेपाल समूहबाट पनि मत प्राप्त गरे ।

कुल २९६ मत खसेकोमा ८२ प्रदेश सभा र २१२ मत खसेको थियो । स्थानीय तहतर्फ ३ जना अनुपस्थित भएका थिए ।

कुल खसेको मतमा पाण्डेयको प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत रह्यो । एमाले उम्मेदवार चन्द्रबहादुर खड्काको प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत आयो । प्रदेशतर्फ १ र स्थानीय तर्फ १ मत बदर भएको थियो ।

प्रदेश सभा सांसदको मतभार ४८ र स्थानीय तहतर्फको मतभार १८ अनुसार पाण्डेयले ४१४० मत प्राप्त गर्दा खड्काले ३६१२ मत प्राप्त गरेका थिए ।

विमला खत्री माओवादी केन्द्र प्रवेश गरेपछि, अर्का सांसदले राजीनामा दिएपछि लुम्बिनीमा एमालेका सांसद संख्या ३८ मा सिमित भएको थियो । जसपाको महन्थ ठाकुर समूहका ४ सांसद समेत जोड्दा ४२ हुनआउँछ । काँग्रेसको १९, माओवादी केन्द्रका १९, जसपाको उपेन्द्र यादव समूहको २ र राजमोको १ सदस्य गरी ४१ सदस्य पुगेका थिए ।

यसैगरी स्थानीय तहतर्फ एमाले एक्लैको ८७ मतदाता थिए । काँग्रेसको ६६, माओवादी केन्द्रको ४२, राष्ट्रिय जनमोर्चाको ५ र जनता समाजवादी पार्टीका १४ मतदाता थिए ।
एमालेको स्थानीय तहतर्फ ८७ मत रहेकोमा ९४ आएको गणना गर्दा ७ मत बढेको देखिन्छ । यी मत जसपाको ठाकुर समूहको पनि हो । तर, ठाकुर समूहको १४ मतदातामध्ये अधिकांश मत सुर्य चिन्हमा खसेको छ । केही मत एमालेबाट क्रस भएको बुझिएको छ ।

प्रदेश सभातर्फ एमाले उम्मेदवार खड्काले ४० मत मात्र प्राप्त गरे । ३८ मत एमालेको र ४ मत जसपाको ठाकुर समूहको गरी उनले ४२ मत पाउनुपर्दथ्यो । तर, २ मत क्रस भएको देखिन्छ । एक मत बदर भएकाले एकमात्र मत क्रस भएको पनि हुनसक्छ । मत एमालेको माधवकुमार नेपाल समूहबाट भएको बुझिएको छ । ती प्रदेश सभा सांसद को हुन् खोजीको विषय बनेको छ ।

एमालेबाट मत क्रस नभएको भए खड्का जीत्ने सम्भावना पनि हुनसक्थ्यो । झीनो मतान्तरले मात्र जीत या हारको छिनोफानो हुन्थ्यो ।

काँग्रेस उम्मेदवार दृगनारायण पाण्डेयको मत हेर्दा उनले प्रदेसभा सांसदबाट काँग्रेसको १९, माओवादी केन्द्रको १९, राजमोको १ र जसपाको २ मत पाएको देखिन्छ । गठबन्धन बनाए अनुसार कुल मत ४१ हुनुपर्नेमा १ मत बढी पाएका छन् । यो मत माधवकुमार नेपाल निकट सांसदको हो । अर्को एक मत बदर पनि नेपाल समूहकै सांसदको हुनसक्ने अनुमान गरिएको छ ।

पाण्डेले स्थानीय तहतर्फ गठबन्धन अनुसार कम्तिमा ११३ मत पाउनुपर्दथ्यो । जुन मत काँग्रेसको ६६, माओवादी केन्द्रको ४२, राजमोको ५ हो । उनले जसपाका केहीको मात्र मत पाए । जसपाको १४ मतमध्ये अधिकांश ठाकुर समूहमा छन् । स्थानीय तहतर्फ पनि माधव नेपाल समूहको केही मत काँग्रेस उम्मेदवार पाण्डेयलाई गयो । त्यहाँ पनि मत क्रस भयो । स्थानीय तहका एमालेबाट जितेका जनप्रतिनिधि क कस्ले मत रुखमा हाले भन्ने खोजी सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्