Logo

स्थानीय जनप्रतिनिधिको माग ‘खोप छिटो चाहियो’



काठमाडौं, जेठ १९ । स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह गरिएको हो ।

स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले यथाशक्य चाँडो खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् । उनीहरूले आफ्नै स्रोत र प्रयासबाट खोप खरिद गर्न चाहने स्थानीय तहलाई स्वीकृति दिन पनि सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।

नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जू श्रेष्ठले केही स्थानीय तहले आफ्नो स्रोतबाट खोप खरिद गर्न अनुमति माग गर्र्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । महामारी बढेसँगै खोपको माग बढ्न थालेकाले खोप खरिद गर्न चाहने नगरपालिकालाई स्वीकृति दिन सङ्घले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले सहरी क्षेत्रमा फैलिएको कोरोनाको सङ्क्रमण अहिले गाउँगाउँमा पुगेकाले जति सक्दो छिटो आमनागरिकलाई खोपको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकबाट अनलाइन आवेदन गर्ने व्यवस्था गरिए पनि ग्रामीण क्षेत्रबाट अनलाइन आवेदन गर्न सम्भव नहुने भएकाले उपलब्ध खोप समानुपातिक रूपमा गाउँ र सहरमा वितरण गर्ने व्यवस्था गर्न पनि अध्यक्ष श्रेष्ठले सरकारलाई आग्रह गर् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्