Logo

श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी



काठमाडौं, जेठ १९ । कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उनीहरूको भनाइ छ ।

धुलिखेल अस्पतालका फिजियोथेरापिस्ट काजल कुँवरले सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी समस्या भए फिजियोथेरापी गर्न सुझाव दिए ।

सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने हुन्छ । व्यायाम वा मेसिनको माध्यमबाट उपचार गर्नु फिजियोथेरापी हो । यो कसरत नै हो । यसो गर्दा फोक्सोले राम्रो काम गर्नुका साथै श्वासप्रश्वासमा पनि सजिलो हुने उनले जानकारी दिए । फिजियोथेरापीले श्वास फेर्न सजिलो हुने मात्र नभई तनावबाट पनि आराम पाउन सकिने उहाँले बताए ।

उनले भने, “सङ्क्रमित व्यक्ति आत्तिने हुनसक्छ, यसले शरीरमा अक्सिजनको मात्रा कमी गराउँछ । सङ्क्रमित भइहालेमा ध्यान गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्छ जसले शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्न सहयोग पु¥याउँछ ।”

अस्पतालमा रहेका सङ्क्रमितलाई नियमित व्यायाम गराउने गरेको उनले बताए । “नाकबाट लामो सास तान्ने, केही सेकेन्ड रोकेर मैनबत्ती फुकेको जसरी विस्तारै श्वास बाहिर फाल्नुपर्छ । यसो गर्दा फोक्सोमा बढी अक्सिजन पुग्छ र सजिलो महसुस हुन्छ,” उनले स्पष्ट पारे।

एउटा हात छातीमा र अर्को हात पेटमाथि राखेर पेट फुल्ने गरी लामो श्वास तान्ने र केही सेकेन्ड रोकेर मुखबाट फाल्ने गर्दा पनि राम्रो हुने उनको भनाई छ । फोक्सोमा जम्मा भएको खकार निकाल्ने कसरत पनि गर्न आवश्यक भएको फिजियोथेरापिस्ट कुँवरले बताए। उनका अनुसार यो अभ्यासलाई तीन तरिकाले गर्न सकिन्छ ।

आरामले बसेर लामो श्वास तान्दै फाल्नुपर्छ । त्यसपछि श्वास तान्दा हात माथि लैजाने र फाल्दा तल झार्नुपर्छ । मुख र घाँटी खुला राखेर दुईपटक श्वास फाल्नुपर्छ । यस्तै टाउकोमा हात राखेर पुतलीले जस्तो बन्द र खोल्ने गर्नुपर्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्