Logo

एमाले फुट रोक्न ओली ‘ब्याक हुन तयार’



काठमाडौं, १९ जेठ । नेकपा एमालेको फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएका छन् । ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले सहमतिका लागि पहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बढेका एमाले सांसदहरुको हस्ताक्षर र सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिने शर्त राखेका छन् । उनले एमाले एकताका लागि सक्रिय नेपालनिकट नेताहरुलाई त्यस्तो शर्त राखेका हुन् ।

हस्ताक्षर फिर्ता लिएमा २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काउन केही संशोधनसहित अगाडि बढ्न तयार रहेको जवाफ पठाएको बुझिएको छ । उनले त्यसका लागि समेत प्रस्ताव राखेको र त्यो विषय माधव नेपालसम्म पुगेको बुझिएको छ ।

एमाले फुट रोक्न एमालेका दुवै पक्षबीच हरेक दिनजसो वार्ता चलिरहेको छ । ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सक्रिय छन् । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईको सक्रियता बढी देखिदै आएको छ । उनीहरुले एकताका लागि सहमतिको बिन्दु निर्माण गर्ने प्रयास जारी राखेका छन् ।

पछिल्लो समय एमाले नेता भट्टराई मध्यस्थकर्ताका रुपमा खटिएका छन् । उनले प्रधानमन्त्री ओली र नेता नेपालसँग दिनहुँजसो भेट्दै आएका छन् ।

नेपाल पक्षले २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काएमा सहमति बन्ने बताउँदै आएको छ । तर, ओली त्यसमा सहमत भइरहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot