Logo

४४ वर्षको अधुरै यात्रामा अस्ताए उज्ज्वल



वैकल्पिक राजनीतिका लागि उदाएको विवेकशील नेपाली दलका संस्थापक उज्ज्वलबहादुर थापाले मृत्युलाई पराजित गर्न सकेनन् । देश-विदेशमा रहेका शुभेच्छुकको सहयोग र प्रार्थना अनि चिकित्सकको अथक प्रयासका बाबजुद कोरोनाभाइरस सङ्क्रमित ४४ वर्षीय थापाको मङ्गलबार अपराह्न्न मेडिसिटी अस्पतालमा निधन भयो ।

स्याङ्जाका लाहुरेपिताका छोरा थापा बूढानीलकण्ठ स्कूलबाट ओ लेभल गरी छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका पनि वेब डिजाइनर बनेर फर्किएका थिए। २१ वर्षे उमेरमा भिक्षु बन्न तम्सिएको बताउने उनी कालान्तरमा जनप्रिय युवा नेता बन्न पुगे। उनको जीवन भिक्षुकै जस्तो सादा थियो।

नेपाल फर्किनासाथ सन् २००२ मा उनले डिजिटल म्याक्स सोलुसन नामस सूचना प्रविधि सम्बन्धी कम्पनी खोले र स्याङ्जामा कफी खेतीमा लगानी गरे। उनीसहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ‘नेपालका लागि उद्यमी’ नामक अभियान चलाए। त्यसमा सयौँ नेपाली युवा उद्यमी गोलबद्ध भए। थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भए। साथै द्वन्द्व रूपान्तरणबारे जनचेतना फैलाउने सामाजिक कार्य थालनी गरे।

दिनहुँजसोको बन्द-हडताल आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा ‘बन्दविरुद्ध अभियान’ समूह बनाए। उनी ‘नेपाल खुला छ’ भन्ने ब्यानर बोकेर सवारी साधन चलाएर हिँड्थे। माइतीघर मण्डलामा प्लेकार्ड बोकेर उभिन्थे।

त्यसपछि थापाकै सक्रियतामा युवाहरूले ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियानदेखि सामाजिक सञ्जालदेखि सडकसम्म ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ नारा लगाए। डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा पनि साथ दिए।

ट्वीटरमा मनीष झाले उज्ज्वलका बारेमा लेखेका छन्, ‘अरू दलहरूले देश ठप्प पार्दा ‘नेपाल खुल्ला छ’ भन्ने युवा हुन् उज्ज्वल। ‘नेपाल हाम्रो घर हो डेरा हैन’ भन्ने युवा हुन् उज्ज्वल। ‘विकल्प भन्ने हैन, बन्ने हो’ भन्दै युवाहरूलाई राजनीतिमा जोड्ने व्यक्ति हुन् उज्ज्वल। एकतर्फी बोल्ने हैन, अरूको कुरा सुन्ने व्यक्ति हुन् उज्ज्वल।’

थापाले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह बनाए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीले काठमाडौंका चार क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दियो। त्यस बेला काठमाडौं-५ बाट उठेका थापाले थोरै मत मात्र ल्याए। उनको चुनाव चिह्न थियो, कुकुर।

२०७१ मा उनकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो। २०७४ को स्थानीय निर्वाचनपछि साझा पार्टी र विवेकशील एक भए। थापा सह-संयोजक बने। २०७४ को आम निर्वाचनमा उनले काठमाडौं-५ बाट उल्लेखनीय मत ल्याए। पार्टीले २ लाख १२ हजार मत पायो।

पार्टी एकता भएको १६ महिनामै थापा पुनः विवेकशील दलको नेता बन्न पुगे। दुई कार्यकाल नेतृत्व गरेपछि सहज रूपमा मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरे। २०७७ मङ्सिरमा विवेकशील साझा दल बने पनि उनले नेतृत्व तहमा बस्न चाहेनन्।

उद्यमशीलता नभई देश विकास नहुने र पढेलेखेका देश-विदेश देखेका युवाले नै परिवर्तन गर्न सक्छन् भन्ने मान्यता राख्ने उनी आशालाग्दा नेता थिए। त्यसैले उनी बिरामी हुँदादेखि नै नेपालीहरूले उनको उपचारार्थ २४ घण्टाभित्र ‘गोफन्डमी’ मार्फत २२,२९१ डलर र नेपाली ब्याङ्कको खातामा झन्डै २६.५ लाख रुपैयाँ गरी कुल ५२ लाख रुपैयाँभन्दा बढी सहयोग सङ्कलन भएको थियो।

 



प्रतिक्रिया दिनुहोस्