Logo

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा अस्वीकृत



काठमाडौं, १९ जेठ । निर्वाचन आयोगमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवको फरक फरक पत्र अस्वीकृत भएको छ ।आयोगमा ठाकुर र यादवले एक अर्कालाई निष्काशन गरेको निर्णयसहित लेखेको पत्रमा पार्टीको नेतृत्वसम्बन्धी विषय अद्यावधि गर्न भनिएको थियो । तर, आयोगले दुवै पत्रलाई अस्वीकृत गरेर प्रक्रिया पुर्याएर आउन भनेको छ ।

आयोगले जसपाका दुवै अध्यक्षले कारबाहीसम्बन्धी लेखेको पत्र नियमावली अनुसार नमिलेको उल्लेख गरेको छ । जसपाको कार्यकारिणी समिति बसी निर्णय भएको हस्ताक्षरक आयोगले मागेको छ । कारबाहीको जानकारी अध्यक्षको पत्रका आधारमा मात्र गरिएको छ । यसलाई आयोगले मान्यता दिन मानेन ।

ठाकुरले अध्यक्ष यादवलाई पार्टीबाट निष्काशन गरेको पत्र लेखेका थिए । यसअघि यादवले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई निष्काशन गरेको पत्र आयोगलाई पठाएका थिए ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने र विरोधमा रहने समूहबीच विवादले फुट भइसकेको छ । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव समूहको कार्यकारिणीमा बहुमत छ । अध्यक्ष महन्थ ठाकुर समूह झीनो मतले अल्पमतमा छ ।



प्रतिक्रिया दिनुहोस्