Logo

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार



काठमाडौं, जेठ २० । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ।

दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। निर्वाचन आयोगले बुधबार दुवै पक्षलाई चिठी लेखेर उनीहरूले आयोगमा पठाएको चिठी राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को अनुसूची १८ बमोजिम ढाँचा नमिलेको जनाउ दिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ठाकुर पक्षले आयोगमा पठाएको चिठीमा कार्यकारिणी समितिको निर्णयको प्रतिलिपिसमेत नराखेको बताए।

‘राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुवै पक्षले आयोगलाई लेखेको चिठीको ढाँचा मिलेन। त्यसमा पनि ठाकुरले पठाएको चिठीमा केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपिसमेत छैन’, श्रेष्ठले भने। दुवै पक्षले मंगलबार एकले अर्कोलाई पार्टीबाट निकालेको जानकारीसहितको पत्र आयोगलाई पठाएका थिए। आयोगले ढाँचा पूरा गरेर पत्राचार गर्न दुवै पक्षलाई आग्रह गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्