Logo

ओलीपछि एमालेको भावी नेता को ?



काठमाडौं, २० जेठ । नेकपा एमालेभित्रको शक्तिसंघर्षले को नेता कति शक्तिशाली र कस्को नेतृत्व क्षमता कति छ भन्ने खुलाउँदै लगेको छ । पहिलो पुस्ताका नेताहरु अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीच मुख्य शक्तिसंघर्ष देखिएको छ ।

ओली र नेपालको पक्ष विपक्षमा नेताहरु देखिएका छन् । यो शक्तिसंघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेर आफ्नो शक्ति सञ्चयमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतम पनि लागेका छन् । यी सबै पहिलो पुस्ताका नेताहरु हुन् । अब एमालेको नेतृत्व निकट भविष्यमा यो पुस्ताबाट दोस्रो पुस्तामा जाने देखिएको छ । त्यही पुस्ताले अबको ५ वर्षभित्र एमालेको नेतृत्व सम्हाल्ने घटनाक्रमले देखाउँदै लगेको छ ।

दोस्रो पुस्तामा शक्तिशाली नेताहरुमा भीम रावल, इश्वर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे देखिएका छन् । रावल पूर्वउपप्रधानमन्त्री तथा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्क्ष पनि हुन् । उनको एमालेमा अझै पकड मजबुत रहेको देखिइसकेको छ ।

एमालेबाट निष्काशित रावलको सुदूरपश्चिम प्रदेशमा बलियो पकड छ । एमालेको प्रदेश संसदीय दलमा उनी पक्षी सांसदहरुको बहुमत देखिइसकेको छ । एमाले एकता कायमै रहेमा उनी भावी अध्यक्षका दाबेदार बन्नेछन् ।

एमाले महासचिव इश्वर पोखरेल वर्तमान उपप्रधानमन्त्री हुन् । उनको पनि संगठनमा पकड छ । तर, उनको पक्षधर सांसद र केन्द्रीय कमिटी सदस्य रावलको तुलनामा कमै देखिए । उनी ओलीकै समूहबाट शक्ति आफूमा सार्नेगरी बढेका छन् ।

नेकपा रहँदा महासचिव रहेका विष्णु पौडेल एमाले एकताका लागि सक्रिय छन् । उनी ओलीका विश्वासपात्र देखिएका छन् । तर, रावल र पोखरेलनको तुलनामा उनको पकड कमजोर देखिएको छ । यद्यपि, ओलीको उत्तराधिकारी बन्न उनी लागिपरेका छन् ।

एमाले नेता सुवास नेम्वाङसँग सभामुख भइसकेको अनुभव छ । संविधानसभाले संविधान जारी गर्दा उनी अध्यक्ष थिए । समन्वयकारी नेताको भूमिका निभाउन सक्ने नेम्वाङसँग कुटनीतिक चार्तुयता रहेपनि संगठनमा बलियो पकड छैन ।

सुरेन्द्र पाण्डे नेपाल समूहमा छन् । उनी महासचिवमा इश्वर पोखरेलसँग पराजित भएका थिए । एमालेको संगठनमा उनको पकडभन्दा पनि लोकप्रीयता छ । त्यही लोकप्रीयताका आधारमा नेता बन्ने उद्देश्य उनमा देखिन्छ ।

तेस्रो पुस्ताका गोकर्ण बिष्ट पनि लोकप्रीय नेता हुन् । संगठनमा पनि उनको लोकप्रीयता छ । तर, उनको बलियो गुट छैन ।

योगेश भट्टराई पनि लोकप्रीय नेता हुन् । उनको युवामाझ पकड छ । समन्वयकारी भूमिका निभाएर अगाडि बढ्ने, एमाले एक बनाएर प्रभावकारी बन्ने योजनामा भट्टराई देखिन्छन् ।

एमालेको अहिलेको राजनीतिक घटनाक्रम हेर्दा दोस्रो र तेस्रो पुस्तामा यीनै नेताहरु छन् जो एमालेको भावी नेतृत्वकर्ता बन्न सक्छन् । उनीहरुमध्ये कोही आक्रामक तरिकाले सक्रिय छन् त कोही समन्वयकारी र रक्षात्मक शैलीमा बढिरहेका छन् । रावल र पोखरेलको शैली आक्रामक छ । पौडेल र नेम्वाङ समन्वयकारी देखिएका छन् । बिष्ट र भट्टराईको शैली पनि त्यस्तै देखिन्छ । सुरेन्द्र पाण्डे पनि संयम भएर अगाडि बढ्न खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्