Logo

४२ महिलासँग यसरी बिहे गरेका थिए जंगबहादुरले



सुन्दर कसजू : राणाकालको अन्त्यसम्म पनि महिलाले बहुविवाह गर्न सम्भव थिएन। एउटासँग टिक्न नसकेपछि अर्कोसँग भाग्ने सुविधा कानुनतः प्राप्त थियो। तर, यो बडो जोखिमपूर्ण र खर्चिलो थियो। अर्काकी श्रीमती भगाउने नवदुलहाले तुरुन्तै अड्डा गएर जारी तिर्नुपर्थ्र्यो। जार पहुँचवाला रहेछ भने महिलाको नाक र नवदुलहाको घाँटी काटिन्थ्यो।

श्री ३ महाराज घोषित भएपछि जंगबहादुर राणाले विवाहित साली सिद्धिगजेन्द्रलक्ष्मीलाई अपहरण गरी पत्नी बनाए। यौन परितृप्तिका लागि भन्दा पनि आफ्नो पौरुष प्रदर्शन गर्न उनले जबरजस्ती गरे। सिद्धिगजेन्द्रलक्ष्मी जंगबहादुरकी जेठी श्रीमती प्रसादलक्ष्मीकी बहिनी र प्रसादसिंह बस्नेतकी छोरी थिइन्। भीमसेनको पतनपछि थापाखलक र थापाखलकसँग पारिवारिक सम्बन्ध भएकाहरूको विचल्ली हुने क्रममा थापा खलकका भानिज जंगबहादुरमाथि पनि आपत् आइपर्यो। उनलाई रिसल्लाको सेकेन्ड लेफ्टिनेन्ट पदबाट च्यूत गरियो। नियमित आम्दानी नहुँदा हातमुख जोर्न कठिन भयो। जुवा खेलेर घरखर्च जोहो गर्ने प्रयासमा उनी लागे।

तर, उल्टै ११ सय रुपैयाँ ऋण बोके। ऋण तिर्ने पैसा कमाउन भनेर उनी काशीतिर गए। नसकेपछि हरेस खाई काठमाडौं फर्किए। फर्किनासाथ प्रसव वेदनाका कारण श्रीमती प्रसादलक्ष्मीको मृत्यु भयो। श्रीमतीको मृत्यु जंगबहादुरको आर्थिक जीवनका निम्ति सुखद बन्यो। उनले काजी सनकसिंह थापाकी छोरी नन्दकुमारी देवीसँग बिहे गरे। यसबाट उनलाई दोहोरो लाभ भयो। हुनेखाने परिवारसँग सम्बन्ध जोडियो। दाइजोबापत आएको सम्पत्तिबाट ऋण तिर्न ११ सय रुपैयाँको जोहो पनि भयो (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त–भाग १, विसं २०७२, पृ. ५–७; जोन ह्वेल्पटन, जंगबहादुर इन युरोपः द फस्र्ट नेपलिज मिसन टु द वेस्ट, सन् २०१६, पृ. ५९)।

नन्दकुमारीलाई भित्र्याउनुअघि जंगबहादुरले ससुरा प्रसादसिंहसँग साली सिद्धिगजेन्द्रलक्ष्मीको हात मागेका थिए। ‘एउटी छोरीलाई त ख्वाउन नसकेर मारिस्, तँजस्ता लफुंगालाई अर्की छोरी दिन्छु ?’ भनी ससुरा कड्किएपछि खिन्न हुँदै जंगबहादुर फर्किए। कोतपर्वपछि सत्ता हत्याएर नेपालको सर्वेसर्वा बनेका उनले अन्ततः ससुरासँग बदला लिन सालीको घरगृहस्थी बिगारे।

जंगबहादुर कास्की र लमजुङको महाराजा बन्दा सिद्धिगजेन्द्रलक्ष्मीको बिहे भएर सन्तानसमेत जन्मिसकेका थिए। एक दिन जंगबहादुर हात्ती चढेर सिद्धिगजेन्द्रलक्ष्मीको घरतिर लागे। छेवैमा पुगेपछि हात्तीको पिठ्यूँबाट उफ्रेर घरभित्र पसे। जंगबहादुरको नियत सिद्धिगजेन्द्रलक्ष्मीले बुझिन् र भयभीत हुँदै सुकुलभित्र लुकिन्। तर, प्रतिशोधको आगोमा जलेका जंगबहादुरको क्रूर नजरबाट बँच्न सकिनन्। जंगबहादुरले सिद्धिगजेन्द्रलक्ष्मीलाई तानेर बाहिर निकाले र जबरजस्ती श्रीमती बनाए। अड्डामा गएर जारी तिरी कानुनी प्रक्रिया पनि पूरा गरे (पुरुषोत्तमशमशेर जबरा, उही, पृ. १२९)।

बस्तुभाउ किनबेच गरेसरह जारी तिरी विवाहित स्त्री भिञ्याउने चलन यदाकदा अद्यापि कायम छ। अहिले पनि तराईको डोम समुदायले अर्काकी श्रीमती ल्याउँदा पुरानो बेहुलालाई र बेहुलीको माइतीलाई जारी तिर्नुपर्छ (भोला पासवान, डोमहरूको जमिनदारी प्रथा र सामाजिक गतिशीलता, मधेस अध्ययन, वर्ष १, अंक १, पृ. १५१, सं. राजेन्द्र महर्जन)।

राणाकालताका महिलालाई दोस्रो विवाह गर्न नदिन समाजले अझ ठूलो तगारो तेस्र्याएको थियो। दुईपटक विवाह गर्ने महिलालाई त्यति बेला ‘दुईलिंगे’ भनी होच्याइन्थ्यो र सामाजिक बहिष्कार गरिन्थ्यो। श्रीमान्प्रतिको श्रीमतीको निष्ठामा किञ्चित कमी नआओस् भनेर अनेक नियम पालना गर्न लगाइन्थ्यो। श्रीमान् घरमा नभएको बेला श्रीमती अर्कैसँग लहसिएलान् भनेर नित्य श्रीमान्को सम्झना गर्नुपर्ने सामाजिक विधान कोरिएको थियो। श्रीमान् केही दिनका लागि बाहिर जान लाग्दा श्रीमतीले श्रीमान्को खुट्टामा हातका चुरा अथवा माटो स्पर्श गराई श्रीमान् घर नफर्किएसम्म त्यसैलाई पखालेर चरणामृत सम्झी हरेक बिहान आचमन गर्नुपर्थ्यो (सरदार भीमबहादुर पाँडे, त्यस बखतको नेपाल–राणाकालीन आखिरी तीन दशक–भाग १, विसं २०६१, पृ. ७१)। त्यस्तो कठोर समाजमा महिलाले विवाहबन्धन तोड्नु लगभग असम्भव थियो।

जंगबहादुर हात्तीको पिठ्यूँबाट उफ्रेर सिद्धिगजेन्द्रलक्ष्मीको घरभित्र पसे। भयभीत हुँदै सिद्धिगजेन्द्रलक्ष्मी सुकुलभित्र लुकिन् तर जंगबहादुरको क्रूर नजरबाट बँच्न सकिनन्। जंगबहादुरले उनलाई तानेर बाहिर निकाले र अड्डामा गई जारी तिरेर जबरजस्ती श्रीमती बनाए।

पतिको मृत्युपछि पनि महिलाले विवाहबन्धनबाट मुक्ति पाउँदैनथे। उनीहरूलाई आजीवन दिवंगत पतिप्रति निष्ठावान् बन्न लगाइन्थ्यो। विधवाहरूले मूल बाटोमा वर, पीपल, शमी आदीको वृक्ष रोपेर ती वृक्षमा नियमित पानी चढाउनुपथ्र्यो। र, स्वर्गीय पतिको नाम सम्झिएर पीपलमा चढाएको पानी आचमन गर्नुपर्थ्यो। परपुरुषलाई विधवाले आकर्षित नगरून् भनेर उनीहरूलाई चुरा, पोते, धागो आदि लगाएर सिँगारपटार गर्न दिइँदैनथ्यो (सरदार भीमबहादुर पाँडे, उही, पृ. ७२–७३)। कतिपय महिलालाई श्रीमान्सँगै सती पठाइन्थ्यो। यद्यपि, सतीप्रथा नेपालमा कहिल्यै बाध्यकारी थिएन।

हिन्दु धर्मशास्त्रले बहुपतिप्रथालाई निषेध गरेकाले हिन्दु धर्मसंस्कृतिबाट निर्दिष्ट राणाकालीन समाजमा पुरुषले महिलालाई विवाहको पासले बाँधेर यौनमाथि एकाधिकार जमाएको थियो। हिन्दु धर्मशास्त्रले विशुद्ध सन्तानोत्पत्तिका निम्ति यौनभावरहित भएर महिलाले परपुरुषबाट नियोग गर्न पाउने विशेष व्यवस्था मात्रै गरेको छ। महाभारतमा द्रौपदीले पाँच पाण्डवसँग बिहे गरेको घटना अपवाद हो। त्यहाँ पनि द्रौपदीलाई परिबन्दमा पारेर पाण्डवहरूकी साझा पत्नी बनाइएको छ। यसप्रति द्रौपदीका बाबु राजा द्रुपद र द्रौपदीका भाइ धृष्टद्युम्नले युधिष्ठिरसमक्ष तीव्र असन्तुष्टि जनाएको वर्णन महाभारतमा गरिएको छ (महाभारत, आदिपर्व, १९५,७–१२)।

पुरुषलाई चाहिँ समाजले बहुविवाह गर्ने छुट मात्र दिएको थिएन, सकेसम्म बढी श्रीमती थुपार्न प्रोत्साहन नै गरेको थियो। श्रीमतीलाई आफूसँग मात्र सीमित राखी बहुविवाहमार्फत वैधानिक रूपमै अनेक स्त्री भोग्ने सुविधा पुरुषलाई प्राप्त थियो।

आर्थिक सम्पन्नताको खुड्किलो चढ्दै गएपछि विभेदको अन्त्य पनि क्रमशः हुँदै जान्छ भन्ने सिद्धान्त श्रीमान्को सम्पत्तिका कारण धनी कहलिएकी महिलाको हकमा लागू हुँदैन। बरु उल्टो राणाकालमा धनी परिवारकी बुहारीले बढी सास्ती खेप्नुपर्थ्यो। बहुविवाह त्यस्तै सास्तीमध्ये एक थियो।
खान लाउन समस्या नहुने पुरुष सकेसम्म बढी पत्नी थुपार्न लालायित हुन्थे। बढी पत्नीको भोग र यसबाट समाजमा स्थापित हुने रवाफले पुरुषलाई लोभ्याउँथ्यो। बाबुआमाले पनि छोरालाई सकेसम्म बढी बिहे गर्न प्रोत्साहन गर्थे। ‘फलानी बुहारी सासूको जोडले, फलानी ससुराको फर्माइसले र फलानीचाहिँ लोग्नेको सोखले ल्याएको’ भन्ने खालका टिप्पणी राणाकालताका हुने गर्थ्र्यो (सरदार भीमबहादुर पाँडे, उही, पृ. ७८)।

बढी श्रीमती थुपार्ने सवालमा राजकाजमा संलग्न कुलिनहरू अग्रपंक्तिमा हुन्थे। जंगबहादुरले देशविदेशका गरी जम्मा ४२ महिलासँग बिहे गरेका थिए (पुरुषोत्तमशमशेर जबरा, उही, पृ. २१९–२७)। यति धेरै पत्नीलाई पालो पुर्याएर प्रेम गर्नु जंगबहादुरलाई सम्भव थिएन। प्रेमका भोका उनका श्रीमतीहरूले प्रेम तृप्तिका लागि वैकल्पिक बाटो समात्न पनि सक्दैनथे। देशकै सर्वशक्तिमान तानाशाहकी श्रीमतीसँग निकट हुने साहस त्यति बेला कुन परपुरुषले गर्दो हो र! त्यति बेला जंगबहादुर जस्ताको श्रीमती हुनु भनेको केटी सुसारेहरूबाट घेरिएर मखमलको डस्नामा एक्लै पल्टिई सन्तप्त मुद्रामा रात काट्नुभन्दा बढ्ता केही थिएन।

इतिहासमा जंगबहादुरको बिहेका अनेक किस्सा अभिलिखित छन्। तर, ती किस्साले थिचेर इतिहासको गर्तमा पुर्याएका असंख्य महिलाको व्यथा उधिन्ने काम दुर्भाग्यवश अझै हुन सकेको छैन।

पुतलीनानीले गरेको भनसुनकै कारण काजीदेखि प्रधानमन्त्रीसम्म

कोतपर्वपछि शक्तिसोपानका तहहरू हठात उक्लिएर जंगबहादुर सोझै प्रधानमन्त्री जंगबहादुरलाई सत्तामा उक्लिन ठूलो सहयोग गर्नेमध्ये राजदरबारकी सुसारे पुतलीनानी पनि थिइन्। उनी राजारानीको सेवासुश्रुषामा संलग्न थिइन्। त्यति बेलै जंगबहादुर राजा राजेन्द्रविक्रमको अंगरक्षक नियुक्त भए। त्यसपछि राजदरबारमा उनको आउजाउ बाक्लो भयो। यसै क्रममा पुतलीनानीसँग उनी नजिकिए। दरबारका गुप्त कुरा थाहा पाउन उनले पुतलीनानीलाई प्रयोग गरे। ‘राजा नाम मात्रका छन्, सबै शक्ति रानीमा निहित छ, उनी गगनसिंहलाई असाध्यै रुचाउँछिन्, त्यसैले गगनसिंहको चाकरी गरेर मात्रै उन्नति गर्न सकिन्छ’ भन्ने उपदेश जंगबहादुरले पुतलीनानीबाट पाए। उनले त्यसै गरे। दरबारभित्र पुतलीनानीले गरेको भनसुनकै कारण जंगबहादुर काजीसम्म बने (पुरुषोत्तमशमशेर जबरा, उही, पृ. १४)।

कोतपर्वपछि शक्तिसोपानका तहहरू हठात उक्लिएर जंगबहादुर सोझै प्रधानमन्त्री बने। त्यसपछि पनि उनले पुतलीनानीलाई दरबारभित्रको गुप्तचरीमा लगाइरहे। पुतलीनानीले दिएको सूचनाकै आधारमा उनले भण्डारखालमा आफूलाई मार्ने षड्यन्त्रबारे चाल पाए र दमन गरे (पुरुषेत्तमशमशेर जबरा, उही पृ. ४८)। शासनसत्तामा स्थिर भएपछि अन्ततः उनले पुतलीनानीलाई बिहे गरी महारानी बनाए। जंगबहादुरको मृत्युपछि सती जाने उनका तीन महारानीमध्ये पुतलीनानी पनि थिइन्। जंगबहादुरको टोपी र खराउ काखमा राखेर छुट्टै चितामा बसी उनी जलेकी थिइन्। जंगबहादुरको शवसँग जल्ने ‘मान’चाहिँ बडामहारानी हिरण्यगर्भदेवीलाई प्राप्त भयो। जंगबहादुरको टाउको काखमा राखेर उनी जलेकी थिइन् (पुरुषोत्तमशमशेर जबरा, उही, पृ. २४५)।

कोतपर्व र भण्डारखाल पर्वबाट विरोधी भारदारहरू सबै पाखा लागेपछि जंगबहादुरको अकण्टक शासन सुनिश्चित भयो। शक्तिसम्पन्न भए पनि तागाधारीमाझ तल्लो ठानिएको खस जातिको भएकाले ठकुरी राजा तथा भारदारसरहको सामाजिक हैसियत बनाउन नसकेकामा जंगबहादुर खिन्न थिए। आफ्नो वंशको हैसियत अभिवृद्धि गर्न उनले छोराहरूको बिहे ठकुरी राजकन्याहरूसँग गराइदिए। आफ्नी बडामहारानी ठकुरीकै छोरीलाई बनाउन भनेर उनले चौतारिया फत्यजंग शाहकी छोरी ताक्न थाले।

फत्यजंगकी श्रीमतीसँग उनले छोरीको हात मागे। तर, खसलाई छोरी दिन आमा राजी भइनन्। कोतपर्वपछि हरण भएको फत्यजंगको सम्पत्ति फिर्ता गराएर जंगबहादुरले रिझाउने प्रयास गरे। नसकेपछि राजा सुरेन्द्रविक्रमसँग गुहार मागे। स्वयं राजाले जंगबहादुरका निम्ति छोरीको हात मागेपछि फत्यजंगकी श्रीमतीले नाइँ भन्न सकिनन् (ज्ञानमणि नेपाल, जंगबहादुरप्रति दगा र गोठू बस्नेतको अवज्ञा, प्राचिन नेपाल, संख्या ८९, भदौ–असोज २०४२, पृ. १–१७)। ती छोरी जंगबहादुरको शवसँगै आत्मदाह गर्ने हिरण्यगर्भदेवी थिइन्।

विदेशी कन्याहरूलाई पनि जंगबहादुरले रानी बनाएर दरबार भिœयाएका थिए। यसो गर्दा विभिन्न जातिका महिलालाई भोग्न पाइने र देशबाहिर पनि आफ्नो प्रभाव विस्तार हुने उनले देखेका थिए।

सन् १९५७ मा उत्तर भारतमा उठेको सिपाही विद्रोह दमन गर्न जंगबहादुर दलबलसहित लखनउतिर गए। विद्रोह दमन गरेपछि जोहर नाम गरेकी सुन्दर युवतीलाई सँगै लिएर आई उनको नाम ‘जौहर कुमारी’ राखिदिए। उनी मुस्लिम हुन् भनी घोषणा गर्ने साहस नभएपछि जंगबहादुरले उनलाई काँगडा घर भएकी राजपुतकन्या भनेर सबैलाई चिनाए। जौहरको सौन्दर्यबाट मुग्ध भएका जंगबहादुरले उनलाई दरबारमा सुविधापूर्वक राखेका थिए। लखनउमा विद्रोह दमन गरी उनी काशी गए। त्यहाँ उनले भारतको ‘कटक स्टेट’की राजकन्यासँग बिहे गरे र उनलाई ‘गंगा महारानी’को पद दिई दरबार भित्र्याए ( श्री ३ हरूको तथ्य वृत्तान्त, भाग १, पुरुषोत्तमशमशेर जबरा, पृ. १३९–१४०)।

सकेसम्म बढी श्रीमती थुपार्ने जंगबहादुरको चरित्रलाई उनका सन्तती र भाइबन्धुहरूले राणाशासन नढलुन्जेल राम्रोसँग अनुसरण गरे। यद्यपि, उनलाई उछिन्नचाहिँ सकेनन्। यही कारणले गर्दा झर्रा राणाहरू अल्पमतमा पर्दै गएपछि चन्द्रशमशेरको पालामा ए, बी, सी क्लासमा राणाहरूलाई व्यवस्थित रूपमै विभाजन गरियो। यही विभाजन राणाशाहीको अवसानको एउटा कारण बन्न गयो।

चन्द्रशमशेरकी एकल रानी

त्यति बेला बहुविवाह गर्नु पुरुषको नैसर्गिक अधिकारसरह थियो। बहुविवाह नगर्नु र एउटी मात्रै भोग्य रानी राख्नु मात्रै पनि चन्द्रशमशेरको सद्गुण बन्न गएको तथ्यले बहुविवाहले राणाकालीन समाजमा कसरी जरा गाडेको रहेछ भन्ने प्रस्ट पार्छ। चन्द्रशमशेर ऐशआराम र भोगविलासमा अन्य राणासरह अनुरक्त थिएनन्। स्वास्थ्य राम्रो नभएकाले उनी मदिराबाट टाढा थिए। मैथुनक्रीडामा पनि संयमित थिए। उनले एक महारानी र अर्की एक उपपत्नीमै चित्त बुझाएका थिए। यति थोरै स्त्रीमा चित्त बुझाएर सद्गुणको भव्य नमुना प्रस्तुत गरेको भन्दै उनलाई तारिफको पुलमा चढाइएको थियो। उनका प्रशस्तीमा ‘रामं ह्रीणं रचयतितरामेकपत्नीव्रर्तर्यः’ अर्थात् ‘एउटी मात्र स्वास्नी राख्ने नियमले गर्दा जसले रामचन्द्रलाई पनि लाज मर्नु पारिबक्सेको छ’ लेख्नसम्म बाँकी राखिएन (डा. महेशराज पन्त, करिया अमलेख ‘स्पीच’को नयाँ आवृत्ति हेर्दा, राजधानी, काठमाडौं, २२ पुष २०७४)।

अहिले पनि महिलाले विवाहअघि कुमारीत्व भंग हुँदा अथवा बहुपुरुषगमन गर्दा ग्लानि महसुस गर्छे। पुरुषले चाहिँ पुंसत्व जागेको महसुस गर्छ। यस्तो मनोभाव यौनमाथि पुरुष एकाधिकार हटिनसकेको प्रमाण हो।

हिन्दु धर्मशास्त्रले बहुपत्नीप्रथालाई प्रोत्साहन गरेकाले पनि यसको प्रभाव राणाकालमा पर्न गएको थियो। ऋग्वेद (१०।१४५,१५९), अथर्ववेद (३।१८), तैत्तिरीय संहिता (६।६।४।३), ऐतरेय ब्राह्मण

(१२।१९), तैत्तिरिय ब्राह्मण (३।८।४), शतपथ ब्राह्मण (१२।४।१।९), वाजसनेयी संहिता (२३।२४,२६,२८) लगायत हिन्दु धर्मग्रन्थमा बहुपत्नी प्रथालाई अनुमोदन गरिएको छ। तैत्तिरीय ब्राह्मणमा पत्नीलाई संग्रह गर्नलायक सम्पत्तिसरह मानिएको छ। कौटिल्य अर्थशास्त्र (३।२) मा दास्रो सन्तान नभएमा, मृत सन्तान जन्मिएमा अथवा छोरी मात्रै जन्मिएमा पुरुषले पुनर्विवाह गर्न पाउँछन् भनिएको छ। मनु (५।८०) र याज्ञवल्क्य (१।८०)ले पत्नी मदिराकी अम्मली भएमा, दीर्घरोगी भएमा, धोकेबाज निस्किएमा, खर्चिली भएमा, कटुभाषी भएमा र केवल छोरी मात्रै जन्माएमा पुरुषले अर्को विवाह गर्न पाउने उल्लेख गरेका छन्। यही परम्परामा दीक्षित राजा विक्रमादित्यले सय जना श्रीमती बनाएका थिए।

(पाण्डुरंग बामन काँणे, धर्मशास्त्रकी इतिहास, भाग १, सन् १९९२, पृ. ३१२–१३)। यही परम्परालाई नेपाली समाजले राणाशाही अन्त्य नहुँदासम्म आदर्श मानेको थियो।

धर्म, संस्कृति र लोकव्यवहारमा बहुपत्नीप्रथा प्रचलित भए पनि महिलाले यसलाई सहज रूपमा स्वीकार गरेका थिए भन्नेचाहिँ होइन। राणाकालभन्दा हजारौं वर्षपहिले बहुपत्नीप्रथा अझ घनिभूत रहेको महाभारतकालीन समयमा पनि श्रीमान्ले सौता ल्याउँदा महिलाले चित्त दुखाएका प्रसंग भेटिन्छन्। युधिष्ठिर र द्रौपदी रतिरागमा लिन भएको बेला उनीहरूको खोपीभित्र पसेको अपराधमा १२ वर्षका निम्ति वनवास गएका अर्जुनले फर्किंदा नयाँ पत्नी शुभद्रालाई पनि साथमै ल्याए। सबैभन्दा प्रिय पतिको साथ लागेर सौता आएको देखेपछि द्रौपदीलाई औडाहा भयो। रुँदै उनले अर्जुनसँग ‘तपाईंलाई यहाँ किन आउनुपर्‍यो ? जानु नि आफ्नै शुभद्रेकोमा। भारीलाई जतिसुकै दह्रो गरी गाँठो पारे पनि दोस्रोपटक त्यसलाई कस्दा पहिलो गाँठो आखिरमा खुकुलो बनिहाल्छ’ (महाभारत, आदिपर्व, २२०।१६–१७) भनी बिलौना गरेको मार्मिक क्षणलाई यहाँ स्मरण गर्नु वाञ्छनीय हुन्छ।

स्त्रीको यस्तै भाव झल्काउने राणाकालीन एउटा घटनाबारे उल्लेख गरौं। बालकृष्ण समकी आमा दमकी दीर्घरोगी थिइन्। रोगले गर्दा उनी बिछ्यौनामा त्यति सक्रिय हुन सक्दिन थिइन्। समका बाबुले घरका सुसारे, तालिमे आदिबाट काम चलाउँथे। त्यत्तिकैमा स्वर्गीय राजा पृथ्वीवीरविक्रमकी ल्याइते रानीपट्टिकी छोरीको बिहे हुने कुरा चल्यो। बिहेसँगै सात लाख दाइजो दिने कुरा पनि आयो। पैसाको कुरा सुनेपछि समका बाबुले आँखा चम्काए र आफूलाई दुलहाको प्रत्यासी बनाए। सौता आउनसक्ने देखेपछि आमा निन्याउरो भइन्। ‘सौतेनी डाह’ देखाउने आमालाई समका बाबुले यस्तो भाकामा सम्झाए, ‘हामीले निरीह भएर आफ्नै भाइको सम्पत्तिको रवाफ हेर्नु परिरहेको छ। तिमी यसै बिरामी, उसै बिरामी। आखिरमा अहिले पनि त मैले केटीहरू राख्नै परेको छ। योभन्दा त बरु राजाकी छोरी ल्याउँदा राम्रो। यसो गर्दा उल्टै तिम्रो रवाफ बढ्छ। त्यसले तिमीलाई नढोगी, तिम्रो सेवाटहल नगरी सुखै पाउँदिनँ। पैसो भएपछि भनेजसरी तिम्रो औषधिमूलो पनि त गर्न पाइन्छ (बालकृष्ण सम, मेरो कविताको आराधन, विसं २०५२, पृ. १३६) !’ तर, संयोगले समका बाबुसँग ती राजकन्याको बिहे भएन।

सौताप्रतिको महिला भावलाई ‘सौतेनी डाह’ भनेर समाजमा सामान्यकृत गर्ने गरिएको छ। एउटी पत्नी साझा गरेर अनेक जारसँग एउटै घरमा बस्नु परेको भए पुरुषमा पनि यस्तै खालको डाह उत्पन्न हुने थियो भन्ने यथार्थप्रति आँखा चिम्लिएर पुरुषप्रधान हाम्रो समाजले ‘सौतेनी डाह’लाई स्त्रीयोचित गुणका रूपमा अपव्याख्या गर्ने गरेको छ।

जंगबहादुरको फिरंगी युवतीप्रति अतिशय आशक्ति

विवाहअन्तर्गत रही विभिन्न स्त्रीको भोग गरेर पनि नपुगेपछि पुरुषहरू विवाहेत्तर सम्बन्ध राख्ने गर्थे। बेलायत भ्रमणका क्रममा जंगबहादुर लोरा बेल नाम गरेकी युवतीसँग अनुरक्त भएको र उनलाई रिझाउन मोटो रकम उडाएको प्रसंग नेपाली इतिहासको रोचक किस्सा बन्न गएको छ। लोराप्रति जंगबहादुर यतिविघ्न आशक्त भएका थिए कि लोरासँग रहनकै लागि नेपालको राजदूत भएर लन्डनमै रहनेसम्मको चाहना उनीबाट व्यक्त भएको थियो। आफ्ना भाइहरूको नाइँनास्तीका कारण लन्डनबाट पेरिस हुँदै उनले नेपाल फर्किनु परेको थियो।

केही साता पेरिसमा रहँदा लोला मोन्टेज नाम गरेकी अर्की युवतीसँग उनी अनुरक्त हुन पुगेका थिए। जर्मनीको बभेरिया राज्यका राजा लड्विग प्रथमकी भोग्य पत्नीसमेत रहेकी लोलामाथि त्यहाँको राजकाज भाँडेको आरोप लागेको थियो। ज्यान बचाउन उनी भागेर पेरिस पसेकी थिइन्। त्यत्तिकैमा जंगबहादुरसँग उनको भेट भएको थियो। लोलासँगको रतिरागमा पनि जंग संलग्न थिए।

युरोप जानुअगावै जंगबहादुरमा फिरंगी युवतीप्रति अतिशय आशक्ति थियो। उनलाई युरोप जान सायद यस्तै आशक्तिले पनि प्रेरित गरेको थियो। विसं १९०४ वैशाख ७ गते उनले सुबेदार मन्नुसिंहलाई चिठी लेखेर भारततिरबाट राम्रा केटी छानी ल्याउन अह्राएका थिए। ‘खुबसुरत अंग्रेजी बिवीमाफिक्का केटी २/३ महिनाभित्रमा तैँले ल्याउन सकिस् भन्या तेरा दर्जा पनि बढाइदिउँला, मुनासीबमाफीकका केटीलाई ल्याउनामा लाग्याको खर्च पनि मिनाह दीउँला’, पत्रमा उनले भनेका थिए (दिनेशराज पन्त, जंगबहादुरले राम्री केटी खोजी ल्याउन सुबेदार मन्नुसिंहलाई लेखेको अप्रकाशित पत्र, पूर्णिमा, वर्ष २३, अंक १)। फिरंगी कन्याप्रतिको उनको यस्तो अभिरुचिले लोरा बेल र लोला मोन्टेजसँगको उनको आशक्तिलाई अझ राम्रोसँग बुझाउँछ।

जंगबहादुरका छोरा जनरल जगतजंग कुँवर राणाले बाबुबाट राजनीतिक कौशल सिक्न सकेनन्। बाबुको विलाशितालाई चाहिँ उनले राम्रैसँग ग्रहण गरे। उनले चारघोडे भव्य बग्गी खरिद गरेका थिए। बग्गीभित्रै पिसाबखाना थियो। पिसाब फेर्ने बेलामा सुरुवालको इजार खोलिदिन र फेरिसकेपछि लगाइदिन भनेर उनी बग्गीभित्रै केही युवती राख्ने गर्थे (बाबुराम आचार्य, अब त्यस्तो कहिल्यै नहोस्, विसं २०७२, पृ. १७८)

राणाकालको उत्तरार्धतिरका वर्षहरूमा घुमथाङ, लिस्ती, हेलम्बु र काठमाडौंका सुन्दरी कन्याहरूलाई मासिक तलब दिएर दरबारमा सुसारे बनाई राखिन्थ्यो। उनीहरू राणाहरूका भित्रिनी, रानी अथवा भोग्य युवती बन्ने गर्थे (सरदार भीमबहादुर पाँडे, उही, पृ. ६, २०५६)। राति चाहेकै बखत तालिमे, सुसारे आदि उपलब्ध हुन् भनेर उनीहरूलाई ढोका लगाएर सुत्न सख्त मनाही गरिन्थ्यो (सरदार भीमबहादुर पाँडे, उही, पृ. २०८)।

सुसारे र तामिले राणाहरूका पेवासरह थिए। बालकृष्ण समको घरमा पार्वती नाम गरेकी एउटी तालिमे सुसारे काम गर्थिन्। उनी र डोले ज्ञानवीरबीच प्रेम थियो। एक दिन दुवैजना बिहे गर्न भनेर भागे। आफूले सम्पत्ति ठानेको युवतीलाई जाबो डोलेले उछिट्याउँदा समका हजुरबुवालाई भाउन्न छुट्यो। दुवैलाई धुइँपत्ताल खोज्न लगाइयो। केही दिनपछि दुवैलाई पक्रेर ल्याइयो। दुई प्रेमीको पिँडुलामा कोर्रा बर्साउन लगाई उनीहरू तड्पिएको दृश्य समका हजुरबुवाले घरको बार्दलीमा बसेर नियालेका थिए। त्यही मार्मिक दृश्य आफूले नाटक ‘प्रेमपिण्ड’मा उतारेको समले उल्लेख गरेका छन् (बालकृष्ण सम, मेरो कविताको आराधन, विसं २०५२, पृ. १४)।

विवाहेत्तर सम्बन्धमा कुख्यात जुद्धशमशेर

विवाहेत्तर सम्बन्धमा जंगबहादुरपछिका कुख्यात अर्का नेपाली शासक हुन्, जुद्धशमशेर। बुढेसकालमा श्री ३ महाराज बनेका उनी त्यति बेला पनि सर्वसाधारण युवती ताक्ने गर्थे। हात्ती चढेर नयाँ सडक, इन्द्रचोकलगायत ठाउँ घुम्न जाँदा कसैका राम्रा छोरीबुहारी देखे भने आँखाले आफ्ना हजुरियाहरूलाई त्यस युवतीतर्फ इशारा गर्थे। केही दिनपछि ती युवतीलाई तामदान अथवा बग्गीमा चढाएर जुद्धकहाँ उपस्थित गराइन्थ्यो (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त, भाग २, विसं २०६२, पृ. ३१२; सरदार भीमबहादुर पाँडे, त्यस बखतका नेपाल– राणाकालीन आखिरी तीन दशक, भाग ३, विसं २०६५, पृ. ११२)।

पुरुषको यस्तो यौन स्वच्छन्दता र महिलाको निरीहताले दरबारको चौघेरो नाघेर रैतीहरूका घरगृहस्थीलाई पनि प्रभावित गरेको थियो। विवाहेत्तर सम्बन्धको आकांक्षा पूरा गर्नकै लागि पुरुषले घरबाहिर वेश्यावृत्तिको चलन चलाएको थियो।

घरका महिलाहरूको यौन शुद्धताको निगरानीचाहिँ कडाइका साथ गरिन्थ्यो। त्यति बेला कमारो (दास) मालिकको घरमा बस्ने भएकाले कमारोले घरका स्त्रीलाई ‘बिटुलो’ पार्ला भन्ने भय पुरुषहरूलाई थियो। यस्तो भयबाट मुक्त हुन विशेष कानुनी व्यवस्था गरिएको थियो। कमारोसँग घरका स्त्रीले राजीखुसीमै शारीरिक सम्पर्क राखे भने पनि कमारोले जबर्जस्ती गरेको ठहथ्र्यो र उसको टाउको काटिन्थ्यो (मुलुकी ऐन–१९१०, कानून किताब व्यवस्था समिति, सिंहदरबार, काठमाडौं, २०२२, पृ. ६४६–६४७)।

कुलीन महिलाहरूको यौन शुद्धताको निगरानी अझ कडाइका साथ गरिन्थ्यो। त्यस्ता परिवारका महिलाले विवाहेत्तर सम्बन्ध राख्न त परै जाओस्, परपुरुषलाई हत्तपत्त देख्न पनि पाउँदैन थिए। दरबारभित्रको महिला बस्ने खोपीवरपर बूढाखाढा डोलेबाहेक अन्य परपुरुषलाई पस्न दिइँदैन थियो (सरदार भीमबहादुर पाँडे, त्यस बखतका नेपाल–राणाकालीन आखिरी तीन दशक, भाग १, विसं २०६१, पृ. ४८)। चीनमा त अझ अण्डकोष झिकेर नपुंसक बनाएपछि मात्रै पुरुषहरूलाई दरबारका स्त्रीहरूको अंगरक्षकलगायत पदमा नियुक्त गरिन्थ्यो। सुकुमारी सुसारे, तालिमेहरूबाट चाहिँ पूरै दरबार धपक्कै बलेको हुन्थ्यो।

अन्त्यमा,

अहिले पनि महिलाले विवाहअघि कुमारीत्व भंग हुँदा अथवा बहुपुरुषगमन गर्दा ग्लानि महसुस गर्छे। पुरुषले चाहिँ पुंसत्व जागेको महसुस गर्छ। यस्तो मनोभाव यौनमाथि पुरुष एकाधिकार हटिनसकेको दुर्भाग्यपूर्ण अवस्थाको प्रमाण हो।

 



प्रतिक्रिया दिनुहोस्