Logo

नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित



जेठ २०, काठमाण्डौ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।

नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो ।  त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ । त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ताइपेई भने पुछारमा छ । छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

कोरोना भाईरसको महामारीको कारण नेपालले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा कुवेतमा खेलिरहेको हो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्