Logo

वाईबाको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले भने-‘कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो’



काठमाडौं, २१ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व एवम् पूर्व सांसद विष्णुलाल तामाङ (बिएल वाइबा) को निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै दाहालले यस्तो बताएका हुन् ।

दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ-“स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गर्नुभएका कमरेड वाइबा २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य हुनभएको थियो । २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । कमरेड वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरण पछि केन्द्रीय सदस्य हुँदै नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य रहनुभएको थियो ।”

 

उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा यही जेष्ठ २० गते साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो । वाईबाका तीन छोरा र दुई छोरी रहेका छन् । अध्यक्ष दाहालले वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको छ भने कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको पनि उल्लेख गरेका छन्। सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय थिए ।

उनले अघि लेखेका छन्-“उहाँ नयाँ पुस्तालाई वर्ग संघर्षका वीरतापूर्ण गाथा सुनाई उर्जावान बनाई रहनुहुन्थ्यो । कमरेड वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उहाँप्रति पुनः एकपटक श्रद्धा सुमन प्रकट गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्