Logo

माधव नेपाल समूहमा फुट, ४ नेताले वार्तामा सक्रियलाई दिए यस्तो चेतावनी



काठमाडौं, २१ जेठ । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित ४ नेताहरुले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको अवस्थामा वार्ता नै हुँदैन भन्ने अडान लिनुपर्ने बताएका छन् । उनीहरुले वार्तालाई नाटकको भन्दै आफूहरुबीचको एकतालाई छिन्न भिन्न गर्ने, अरु राजनीतिक दलहरुसँगको सहकार्य भंग गर्ने उद्देश्य बोकेको टिप्पणी समेत गरेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पोलिटब्यूरो सदस्यहरु डा. विजय पौडेल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईल वार्ता गर्दै हिंडेका आफ्नै पक्षका केही नेताहरुमाथि पनि प्रश्न उठाएका छन् । १९ जेठमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटीलाई पत्र लेख्दै ४ नेताहरुले ओलीले पछिल्लो समय प्रदर्शन गरेको लचकतालाई फुट ल्याउने चालबाजी भनेका छन् ।

‘११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेर वार्ता नै हुँदैन भन्ने अडान लिनुपर्ने होइन र ?’ माधव नेपाल पक्षीय ४ नेताले आफ्नै पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईतर्फ संकेत गर्दै प्रश्न गरेका छन् । उनीहरुले वातालाई नाटकको संज्ञा दिदै सर्वोच्च अदालतमा संसद पुनःस्थापनाको बहसलाई कमजोर पार्ने उद्देश्य बोकिएको टिप्पणी समेत गरेका छन् ।

४ नेताहरुले एमाले एकताका लागि गठित कार्यदलमा रहेका नेताहरुमध्ये वार्ता गर्दै हिंडेकाहरुको कार्यशैलीको समेत आलोचना गरे । विज्ञप्तिमा भनिएको छ,‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं ।’ उनीहरुले ओलीसँग सम्झौता गरेमा यथास्थितिवादको खाल्डोमा पुरिनसक्ने खतरा समेत औल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्