Logo

एमालेका यी नेताप्रति माधव नेपाल सशंकित



काठमाडौं, २१ जेठ । नेकपा एमाले औपचारिक विभाजन नजिक पुग्दा माधव नेपाल समूहभित्र फरक धार देखिएको छ । माधवकुमार नेपाल नयाँ दल खोल्ने अन्तिम तयारीमा पुगिरहँदा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई रोक्न सक्रिय भएका छन् ।

बिष्ट र भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुसँग छलफल गरी एमाले एकताको प्रयासमा सक्रिय छन् । भट्टराई नियमितजसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्पर्कमा रहेर एमाले एकताका लागि लागिपरेका छन् । बिष्टले पनि कुनै हालतमा पार्टी विभाजन गर्न नहुने बरु एमालेभित्रै संघर्ष गर्नुपर्ने मत राखेका छन् । पाण्डे पनि भित्र भित्र वार्तामा लागेपनि ठोस सहमति बनाउन अन्तिम समयसम्म प्रयास गर्ने नबन्ने भए नयाँ शिराबाट अगाडि बढ्नुपर्ने पक्षमा छन् ।

तर, माधव नेपाल वार्ता गर्दै हिंडेका नेताहरुप्रति सशंकित भएका छन् । उनले आयाराम र गयारामको कुरा निकाल्दै लालबाबु पण्डितको नामै लिए । कोही आओस् या जाओस् तर अब पछि नहट्ने उनको स्पष्ट अडान बनेको छ ।

नेपालले केही नेताहरुको भूमिकाले अलमल गराइरहेको विश्वासपात्रहरुसँग कुरा राखेका छन् । नेपालनिकट जगन्नाथ खतिवडा, डा. विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले पत्र नै लेखेर वार्ता गर्दै हिंड्नेमाथि प्रश्न उठाएका छन् । उनीहरुले वार्ता गर्नेहरु आफ्नै तरिकाले बढिरहेको भन्दै ११ जना नेता निष्काशन गर्दा पनि वार्ता गर्दै हिडेको ? भनी प्रश्न उठाएका छन् । उनीहरुले पत्रमा जे लेखेका छन् त्यही बुझाई माधव नेपालको पनि रहेको बुझिएको छ ।

माधव नेपालले पछिल्लो समय गोकर्ण बिष्ट र योगेश भट्टराईमाथि आशंका गरेका छन् । भट्टराईले नेपाल पक्ष त्यागिसकेको सामाजिक सञ्जालमै लेखिसकेका छन् । बिष्ट पनि धरमरमा छन् । भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेनन् । बिष्टले हस्ताक्षर गरेपनि पछि सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा जान मानेनन् । दुवैको यो भूमिकाबाट नेपाल सशंकित बनेको बुझिएको छ ।

बिष्ट र भट्टराई दुवै माधव नेपाल पक्षबाट नवौं महाधिवेशनमा निर्वाचित सचिव हुन् । दुवै उक्त पक्षबाट मन्त्री समेत बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्