Logo

प्रदेश २ मा लालबाबु र मनिषबीच सत्तासंघर्ष, कस्ले मार्ला बाजी ?



काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव र महन्थ ठाकुर समूह फरक धारमा बढेपछि प्रदेश २ को सत्तासंघर्ष चुलिएको छ । मुख्यमन्त्री लालबाबु राउत सत्ता जोगाउन सक्रिय भएका छन् । उनलाई हटाउन मनिष सुमनको दौडधूप चलेको छ ।

जसपाको संसदीय दलमा बहुमत बनाउन सुमनको सक्रियता बढेको हो । उनले उपेन्द्र यादव पक्षधर लालबाबु राउतको समूहमा रहेका प्रदेशसभा सांसदहरुलाई तान्न खोजिरहेका छन् । राउतले यही चाल पाएर संसदीय दलमा बहुमत कायमै राख्न महन्थ ठाकुर पक्षधर प्रदेश सभा सांसदहरुलाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।
ठाकुर समूहबाट मन्त्री बनेका नवलकिशोर साहले गुट परिवर्तन गरेका छन् । उनी उपेन्द्र यादव समूहमा पुगेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले चुनावी गठबन्धन गरेर २०७४ को प्रदेश सभा चुनावमा भाग लिँदा प्रदेश २ मा महत्वपूर्ण सफलता हासिल गरेका थिए । चुनावमा समाजवादी फोरमले ३० र राजपाले २५ सिटमा जित हासिल गरेको थियो । दुवै दल मिलेर बहुमत पुर्याउन सकेपछि उपेन्द्र यादव समूहका लालबाबु राउत मुख्यमन्त्री बनेका थिए । गत वर्ष दुवै दलको एकता भई जसपा बनेको थियो ।

जसपा विभाजित भइसकेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेकाले कुन समूहका कति प्रदेश सभा सांसद जाने हुन् ? चासोको विषय बनेको छ ।

जसपाको महन्थ ठाकुर समूहले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार बनाउने रणनीति बनाएको छ । एमालेको प्रदेश सभामा २१ सांसद छन् । ठाकुर समूहले प्रदेश २ मा ५० प्रतिशत सांसद साथमा राख्न सके एमालेसँगको गठबन्धनबाट सरकार बनाउने सम्भावना हुनसक्छ । तर, एमालेभित्र पनि माधव नेपाल समूहबाट प्रदेश २ मा पनि विद्रोह हुनसक्छ ।

ठाकुर समूह विभाजित भएमा उपेन्द्र यादव समूहले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने रणनीति बनाएको छ । काँग्रेसको प्रदेश २ मा १९ सांसद छन् । माओवादी केन्द्रका ८ सांसद छन् ।

प्रदेश २ को संसदीय अंकगणित केलाउँदा उपेन्द्र यादव समूहका लालबाबु यादव अझै मजबुत छन् । जसपाको औपचारिक विभाजन भएमा पनि उनलाई काँग्रेस र माओवादी केन्द्रको साथ रहनसक्छ ।

अर्कोतर्फ, केन्द्रमा जतिसुकै विवाद भएपनि प्रदेश २ मा सत्तासंघर्ष नगर्नेतर्फ पनि जसपा नेताहरुले पहल गर्दै आएका छन् । तर, जसपा विभाजित भएमा मुख्यमन्त्री राउतले ठाकुर समूहमा रहेका केहीलाई मन्त्रीबाट हटाउने सम्भावना पनि देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्