Logo

प्रधानमन्त्री ओलीले ‘भारतलाई मख्ख पार्ने गरी’ क्याबिनेट बनाएका हुन् ?



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गरेको क्याबिनेटबारे विश्लेषण भइरहेको छ । क्याबिनेटको नाम र पृष्ठभूमिलाई हेर्दा कतिपयले भारतलाई मख्ख पार्ने गरी बनाएको टिप्पणी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री भीम रावलले ओलीले जसपाको ठाकुर पक्षलाई १० मन्त्री दिएर बाह्य शक्तिलाई मख्ख पार्न खोजेको टिप्पणी गरेका छन् । उनको संकेत भारततर्फ थियो ।

हुनपनि २१ जेठमा हेरफेर तथा नयाँ नियुक्त भएका मन्त्रीहरुको नाम हेर्दा सबै भारतको आलोचना कहिले नगरेकाहरु रहेका छन् । यसअघिको क्याबिनेटमा रहेका उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल देखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको पटक पटक आलोचना गरेका थिए । उनीहरुको कार्यशैली भारतप्रति गरम नै रहेको बुझिन्थ्यो । तीनैजनालाई ओलीले क्याबिनेटमा राखेनन् ।

मन्त्रिमण्डलमा जसपाको ठाकुर समूहका ८ मन्त्री र २ राज्यमन्त्री रहे । उनीहरुको दक्षिणसँग सुमधुर सम्बन्ध छ । महिला, बालबालिकामन्त्री चन्दा चौधरी नेपाल भारत महिला मैत्री मञ्चको अध्यक्ष नै हुन् ।

एमालेबाट उपप्रधानमन्त्री बनेका विष्णु पौडेल र रघुवीर महासेठ दक्षिणसँग सुमधुर सम्बन्ध रहेकाहरु हुन् । ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री बनाउनु अर्थपूर्ण छ ।

मौजुदा मन्त्रिमण्डलमा कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र बसन्तकुमार नेम्वाङबाहेक १४ जना तराई मधेशबाट प्रतिनिधित्व गर्छन् । उनीहरुको चुनावी क्षेत्र पनि तराई मधेश हो ।

क्याबिनेटको प्रकृति, मन्त्रीहरुको चुनावी भूगोल र पृष्ठभूमि हेर्दा ओलीले भारतलाई खुशी पार्न खोजेको भन्ने टिप्पणीमा दम छ ।



प्रतिक्रिया दिनुहोस्