Logo

उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिमा वामदेवको आपत्ति, प्रधानमन्त्रीले अनभिज्ञता प्रकट गरेकोमा आश्चर्यचकित



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता दिएको भन्दै त्यसले आफू अत्यन्त दुखी भएको टिप्पणी गरेका छन् । नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चार्य चकित भएको पनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत गौतमले आफ्नो धारणा बाहिर ल्याएका हुन् । उनले लेखेका छन्-“नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।”



प्रतिक्रिया दिनुहोस्