Logo

सञ्जाल विस्तार गर्दै पोलिटेक्निक इन्स्टिट्यूट



— नारायण अधिकारी चितवन, २२ जेठ: नेपाल पोलिटेक्निक इन्स्टिट्यूट (एनपिआई) को स्वास्थ्यसम्बन्धी प्रयोगात्मकका लागि १५ वर्षअघि यहाँ स्थापना भएको एनपिआई नारायणी सामुदायिक हस्पिटलले सञ्जाल विस्तार गरेको छ । अस्पतालले नवलपरासी, गोरखा र चितवनमा सञ्जाल विस्तार गरेको हो ।

भरतपुरको अस्पतालरोडमा रहेको यस अस्पतालले भरतपुरमै क्यान्सरसहितको उपचार गर्न न्यूटन अस्पताल निर्माण गरिरहेको छ । कावासोतीमा एनपिआई कालीगण्डकी अस्पताल सञ्चालनमा ल्याएको छ भने गोरखामा एनपिआई गोरखा अस्पताल निर्माणको क्रममा रहेको छ ।

अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार भरतपुर महानगरपालिका—८, मा ३५० श्ययाको अत्याधुनिक अस्पताल निर्माण हुँदैछ । एनपिआईको ४० प्रतिशत शेयर रहेको रु पाँच अर्ब लगानीमा निर्माण हुँदै गरेको यस अस्पतालमा १५० श्यया क्यान्सरका लागि छुट्याइने छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिडका कारण अरु डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । डा श्रेष्ठले भन्नुभयो, “क्यान्सर र अन्य उपचारका लागि विदेश जाने बिरामीलाई रोक्ने गरी न्यूटन सुविधा सम्पन्न हुनेछ ।”

यस्तै कावासोतीमा रहेको कालीगण्डकी अस्पतालसँग मिलेर ५१ श्ययाको एनपिआई कालीगण्डकी अस्पताल सञ्चालनमा ल्याइएको छ । श्रेष्ठका अनुसार नियमित रुपमा भरतपुरबाट विशेषज्ञ चिकित्सक त्यहाँ गएर सेवा दिंदै आएका छन् । सोही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा विजय न्यौपाने नवलपुर क्षेत्रका बिरामीहरु यसबाट प्रत्यक्ष लाभान्वित हुने बताउनुहुन्छ । जटिल अवस्थाका बिरामीलाई भरतपुर ल्याइने छ भने अन्यलाई त्यहीँ उपचार गरिने उहाँको भनाई छ । न्यौपानेले भन्नुभयो “हामी कावासोतीमै भरतपुरकै सरह उपचार सेवा दिंदैछौं ।”

एनपिआईले गोरखामा स्थानीयसँग सहकार्य गरेर एनपिआई गोरखा अस्पताल निर्माण गरिरहेको छ । एनपिआई नारायणी सामुदायिक अस्पतालका उपाध्यक्ष एवं एनपिआई गोरखाका प्रबन्धनिर्देशक पुष्प धिताल १८ महिनामा अस्पताल सञ्चालनमा ल्याउने बताउनुहुन्छ । पचपन्न श्ययाको सो अस्पताल एनपिआई नारायणी सामुदायिक अस्पताल, यसका शेयरधनी र स्थानीयहरु साझेदार रहेका छन् । रु नौ करोडभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

एनपिआई नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँबरका अनुसार विसं २०६३ सालमा यहाँ स्थापना भएको यस अस्पतालले एक वर्षमा एक लाख २८ हजारभन्दा बढीलाई बहिरंग सेवा दिंदै आएको छ । उहाँका अनुसार एक महिनामा यहाँ ५०० हाराहारी शल्यक्रिया हुने गरेको छ । दुई सय श्ययाको यो अस्पताल जिल्लाको ठूलो अस्पताल मध्ये पर्दछ ।

नेपाल पोलिटेक्निक इन्स्टिच्यूट मुख्य शेयरधनी रहेको यस अस्पतालमा १८२ जना अन्य शेयरधनी छन् । छोटो समयमा अस्पतालले आफ्नो सञ्जाललाई विस्तार गर्न सकेको हो । कुँबरले आफ्नै ठाउँमा उपचार सेवा दिने उद्देश्यका साथ सञ्जाल विस्तार गरिएको जानकारी दिनुभयो । बाग्लुङ लगायतका ठाउँहरुबाट पनि सञ्जाल ल्याउन अनुरोध गरेको उहाँको भनाइ छ ।

यस अस्पतालमा मात्रै काम गर्ने विशेषज्ञ चिकित्सकदेखि यहाँका सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरुले बिहान बेलुकाको समयमा सेवा दिंदै आएका छन् । एनपिआई नारायणी सामुदायिक अस्पतालको पिसिएल नर्सिङ, बिएन र बिएस्सी नर्सिङको पढाइ गर्दै आएको छ । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सबैभन्दा धेरै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्था हो । स्वास्थ्यसम्बन्धी सिटिइभिटीका अधिकांश कार्यक्रम सो इन्स्टिच्यूटले सञ्चालन गर्दै आएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्