Logo

कथा : पवित्रा



विश्वेश्वरप्रसाद कोइराला : तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र, पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् – उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

केशवदेव जागिरे थिए, दिनभरि अड्डामा हुन्थे । बाहुनी तिनको सारा काम गर्थिन् । बिहान झिसमिसेमा उठी सडकको धारोमा नुहाई देशवदेवलाई नुहाउन पानी भरेर कौसीमा राख्थिन्; फेरि पूजाकोठाको सामग्री ठिक्क पार्थिन् अनि कोठामा कूचो लाएर भात पकाउने तरखरमा लाग्थिन् । खाटबाट उभिँदा कोठा मचक्क थर्कन्थ्यो कि केशवदेव उठेको उनलाई थाहा भइहाल्थ्यो । केशवदेव बडो नियमित रूपसँग सधैं एउटै समयमा उठ्थे र पवित्रालाई तिनको उठ्ने समय थाहा थियो । पवित्रा हतपताएर दिसा जाने लोटामा पानी राखिदिन्थिन् र कौसीमा आएर साबुन, माटो, धोती, रुमाल राखिदिन्थिन् । हात धुवाउँदा सोद्धथिन् – ‘राति निद्रा राम्ररी पर्यो, बाबू ? राति किन त्यतिबेर पढिरहेको, दिनभरि काम गर्यो र राति पनि धेरै जाग्राम बस्तो भने त आँत टुट्छ’ – चिन्तित भएर तिनी भन्दै जान्थिन् । केशवदेव उत्तर दिन्थे – ‘राति गर्मी थियो, निद्रा चाँडै परेन ।’

‘गर्मी त के भन्नु, नेपालमा हिजोको जस्तो गर्मी भएको कहिले थाहा थिएन’ – पवित्राले भनिन् र करुवाको टुटीबाट पानी खसाल्दै विचार गर्न थालिन् – राति उनको कोठाका झ्यालहरू खुला राख्न बिर्सिन्; गर्मी पनि कति परेको, बिस्तार-बिस्तार नेपाल त मधेसैजस्तो हुन थाल्यो । भन्छन् कलिमा सारा दुनियाँमा गर्मी बढ्छ रे …!

भात खाने बेलामा केशवदेवले भने – ‘दालमा नून पुगेको छैन ।’

पवित्राले घाँटीबाट ऊँटले कराएको जस्तो ध्वनि निकालिन् र जिब्रो काढिन् । तिनको आँखा सिलौटामा पिँधेको नूनमा पर्यो । कामको अलमलले नून हाल्न बिर्सिछन् । हतपताएर सिलौटाबाट नून लयाएर केशवदेवको थालको कुनामा हालिदिइन् । ‘आज बाबूले खानै सक्नुभएन । म पनि कस्ती हुस्सू ! सबै काम यसै गरेर बिगार्छु ।’

जब केशवदेव अड्डा जान भनेर लुगा लाउन थालेका थिए, पवित्राले एक कचौरा ढकी बनाएर ल्याइन् । ‘बाबूले जिउनार भएन, भोकै कसरी अड्डा जाने भनेर यति पकाएर ल्याएकी’- कचौरालाई लुगा लाइरहेका केशवदेवको गोडानेर राखेर आफू ढोकाको कुनामा उभिएर पवित्राले भनिन् ।

बाबू अड्डा जाने बित्तिकै तिनी तलको ढोका लाएर कौसीमा भाँडा माझ्न थाल्छिन् । रछानका भातका सिता टिप्न भनेर कौवाहरू झुम्मिन्थे । कौवा जब तिनको हातैबाट सिता टिपुँला जस्तो गर्थे तब मान्न तिनी कौवाहरू धपाउन तत्पर हुन्थिन् । जति चोटि धपायो उति चोटि त कौवाहरू टाढा-टाढा जान्थे, तर फेरि पछि नजिकै आई सिता टिप्न थाले । अनि पवित्राको क्रोधको सीमा रहँदैनथ्यो । धपाउन छोडेर गाली गर्न थाल्छिन् – ‘मोरा, कीरा परेका …!’ छिमेकको घरको कौसीमा एउटी नेवारकी स्वास्नी पनि भाँडा माझिरहेकी हुन्थी । त्यो भन्न थाल्थी – ‘हेर, कस्तो नकच्चरो कौवा रहेछ । एक्लै भएकी पवित्रा बज्यैलाई दु:ख दिँदो रहेछ ! बाजे पनि हुनुहुन्न ।’ पवित्रा त्यो सहानुभूतिको शब्द सुनेर भन्न थाल्थिन् – ‘बाबू त अड्डा जानुभएको छ । दिनभरि अड्डामा काम गर्दा-गर्दा थाकेर पाल्नुहुन्छ, राति गर्मीले निद्रा पर्दैन । अड्डाको सारा काम वहाँले नै गर्नुपर्छ, अरू सबै कारिन्दा बगमफुसे छन् । वहाँ नभए त कामै थामिन्छ । नेपाल राज्यभरिको सबभन्दा गाह्रो काम गर्नुपर्छ । भन्सार अड्डाले नेपालबाट जाने, नेपालभित् पस्ने मालको हिसाब राख्नुपर्छ, कहीँ बिराउनुभयो भने मेरो टाउकोमा …। आहारा फेरि कति थोरै छ नि ! अलिकति केही चूक भयो भने भातै रुच्तैन । हाम्रो बाबूले धेरै पढ्नुभएक छ, सब पास सिद्ध्याउनुभएको छ, अङ्ग्रेजी पढ्न साह्रै गाहारो हुन्छ, भिन्न शरीर तोडिदिन्छ ।’

बेलुकाको भात पकाउन चाहिने पानी लिन धारामा जाँदा छिमेकका अरू नोकर्नी-चाकर्नीहरू पानी भरिरहेका थिए । पवित्राले पर्खनुपर्यो । नजिकैको ठूलो ढुङ्गोमाथी बसेर भन्न थालिन् – ‘अचेल नेपालमा मधेसकै जस्तो गर्मी पर्न थालिरहेछ । रातभरि उकुसमुकुस हुन्छ … ।’

पानीको गाग्री कम्मरमा राखेर सिँढी उक्लनै आँटेकी थिइन्, दुई-तीन वटा मानिसले ‘केशवजी हुनुहुन्छ ?’ भनेर सोधे । यिनीहरू एउटै अड्डामा काम गर्ने मानिसजस्ता थिए । पवित्राले झोकले हेरेर उत्तर दिइन् – ‘हुनुहुन्न, हुनुहुन्न ।’ र भुतभुताउँदै माथि उक्लिन् – ‘यी कहाँका नाठाहरू आएर बाबूको समय नष्ट गर्छन् ।’ केशवदेव माथि नै थिए; अड्डाबाट आएर तमाखु खाइरहेका थिए । पवित्रालाई कोही आएको मन पर्दैनथ्यो । गाग्रीलाई भान्सामा राखेर केशवदेव भएनेर गएर भनिन् – ‘अहिले दुई-तीन मानिस आएका थिए । मैले हुनुहुन्न भनेर पठाइदिएँ । एकछिन पनि बाबूलाई फुर्सत दिँदैनन् ।’ केशवदेव एकछिन नबोली बसे; फेरि बिस्तारै भने- ‘आएका मानिसलाई त्यसरी फर्काउनु हुन्न । यो बानी बडो नजाती हो ।’

पवित्रा आफूलाई धिक्कार्दै फर्किन् । घरमा आएका अतिथिलाई फर्काउनु हुँदैन । यो त साह्रै नराम्रो बानी – अलच्छिन लाग्छ ! भोलिदेखि कसैले तल ढोका ढ्याक-ढ्याक गर्यो भने निर्दा गोडाले सकेसम्म दगुरेर स्वाँ-स्वाँ-फ्वाँ-फ्वाँ गर्दै ओर्लेर भन्थिन् – ‘बाबू त अहिले घरमा हुनुहुन्न । माथि पाल्नुहोस् न, एकछिन बस्नुहोस् । अब बाबूको अड्डाबाट आउने बेला भो ।’

जब तिनले सुनिन्, बाबूले एउटी केटीको तस्बीर हेरेर उनीसँग बिहा गर्ने निश्चय गरे, उनलाई भयानक दु:ख भयो । दिनभरि कसैसँग नबोली आफ्नो काम गरिरहिन् । राति सारा शरीरमा दर्द भयो, ज्वरांश पनि थियो । तर भोलि बिहान सधैंको जस्तो झिसमिसेमा उठेर धारोमा पानी भर्न पुगिन् । भन्न थालिन् – ‘अब हाम्रो बाबूको चाँडै बिहा हुन्छ । धेरै तस्बीरमा छानिएकी केटी छन् । ठीक गुलाफजस्तो अनुहार छ ।’

भाँडा मस्काइरहेको बेलामा छिमेकको कौसीमा भाँडा माझ्न लागेकी नेवार्नीलाई सम्बोधन गरेर पवित्राले भनिन् – ‘सुन्यौ, हाम्रो बाबूको बिहा हुन्छ । केटी आँखामा राखूँ जस्ती छन् ।’

नेवार्नीले जिस्क्याएर भनिन् – ‘ए, अब तिम्रो सौता आउने भइन् ?’

पवित्राको कण्ठबाट अत्याहटको एउटा ध्वनि मान्न निस्क्यो । फेरि ह्या-ह्या गरेर हाँसेर भनिन् – ‘धत् !’ र अबेरसम्म अनौठा ढङ्गसँग हाँसी मान्न रहिन् – ह्या… ह्या… ।

मालिक जब घरमा आए, पवित्राले बिस्तारै भनिन्- ‘यतिका वर्ष भो मैले तलब पाएकी छैन ।’

केशवदेवले भने- ‘तिम्रो सारा तलब मैले ब्याङ्कमा राखिदिएको छु । तिमीलाई चाहियो र अहिले ? – किन ?’

पवित्राले अर्कैतिर मुख फर्काएर उत्तर दिइन्- ‘हामी खर्च गर्छौं ।’ हामीको, ‘हा’ सोझै कण्ठबाट आएको थियो । मुख अर्कातिर फर्काएकी हुनाले केशवदेव केवल गलगण्ड मान्न देख्न पाउँथे ।

भोलिपल्ट पोल्टोमा आफ्नो जीवनको सारा कमाइ लिएर पहिले बाँडाकहाँ गइन्- ‘दाइ, मलाई सुनका चारवटा चुरा बनाइदेऊ । अचेलका मानिसले लाउने जस्तो हुनुपर्छ । खूब राम्रो बनाउनू है ।’

यति भनेर पोल्टोबाट रुपियाँ खन्याइन् । बाँकी रहेको रुपियाँ लिएर लुगाको पसलमा पुगिन्- ‘मलाई एउटा राम्रो फरिया देऊ- सिलिकको; र एउटा राम्रो चोलो- ढाकाको । तिम्रो पसलको सबभन्दा राम्रो लुगा दिनू ।’ पोल्टोमा बाँकी रहेको सारा रुपियाँ पसलेको अगाडि खन्याइदिइन् ।

बिहाको दिन तिनको फुर्ती हेर्ने लायकको थियो । यताउति गरिरहन्थिन् । एकछिन स्थिर बस्न सक्तिनथिन् । कोठालाई लिपिन्, पोतिन्, राति छिमेकका नोकर्नीहरूलाई बोलाइन्, भोज खुवाइन् र रत्यौली खेल्न थालिन् । एउटी मयलपोस – सुरुवाल लाएर दुलहा बनी, जुँघा नभएको ओठ मुसार्दै भन्न थाली- ‘म दुलहा हुँ, मसँग को बिहा गर्छ ?’

त्यहाँ बसेका नोकर्नीहरूलाई यो बडो हँस्यौलो थियो । सबै हाँसे, पवित्राको ह्या-ह्या पछीसम्म सुनिन्थ्यो । पवित्रा जुरुक्क उठेर आफ्नो कोठाभिन्न पसिन् र ढाकाको चोलो र रेशमी फरिया लाएर आइन् र भनिन्- ‘म तिमीसँग बिहा गर्छु ।’ फेरि सबै कोलाहल मच्चाउँदै हाँस्न थाले । दुलहा हुने मायाको भाव देखाउँदै दुलही भएकी पवित्रालाई आलिङ्गन गर्न अगाडि बढी । पवित्रा लाज मान्ने भाव देखाउँदा देखाउँदै दुलहा बन्नेको गोडामा परेर रुन पो थालिन् । सबै जना छक्क परे । पवित्रा हुँक्क-हुँक्क गरेर खूब रोइन् । एकछिनपछि बिस्तार‍-बिस्तार उठेर आफ्नो कोठाभिन्न पसिन् र भिन्नबाट ढोका लाइन् ।

भोलिपल्ट दुलही ल्याउने दिन पवित्रा सधैंकी जस्ती प्रसन्न थिइन् । आफ्नो सबभन्दा राम्रो लुगा लाएर, कपाल कोरेर ढोकामा दुइटा गाग्रोमा पानी राखेर दुलहा र दुलहीलाई स्वागत गर्न ढोकामा आइन् र उभिइन् । केशव पहिले तामदानबाट ओर्ले; पछि उनकी पत्नी ओर्लिन् । दुलहा अघि-अघि दुलही पछि-पछि आफ्नो घरभिन्न पसे । पवित्रा ढोकाको एउटा कुनामा उभिएर ह्याँ-ह्याँ हाँसिरहिन् ।

कोठामा केशवदेव उभिरहेका थिए, उनैनेर लाजले एउटा पोको जस्तो भएर बिहाको लुगा लाएकी तिनकी पत्नी थिइन् । पवित्राले बिस्तारै कोठाभिन्न पसेर केशवदेवलाई सम्बोधन गरेर भनिन् – ‘यो वहाँलाई मैले टक्र्याएकी ।’

यति भनेर पवित्रा खोच्च्याउँदै कोठाबाट निस्किन् । दुलहीले निहुरेर पवित्राले छोडेर गएको चुरालाई हेरिरहिन् । केशवदेव चुरालाई उठाएर औंलामा नचाउन थाले र घोरिए ।

बिहाको रमझम सिद्धिएपछि पत्नीले गृहस्थीमा आफ्नो स्थान लिइन् । भान्सामा तिनी आफैं बस्न थालिन्, पवित्राले बाहुनीको काम गर्न परेन, कोठामा कूचो लाउनू, पानी भर्नु र भाँडा माझ्ने काम मान्न बाँकी रह्यो । तर उनी भान्सामा आएर दुलहीले पकाएको हेर्थिन् र भन्थिन्- ‘बाबूलाई त्यसरी पकाएको मन पर्दैन, मसला तेल धेरै हाल्नु हुँदैन । रामतोरियामा पानी हालेको वहाँलाई घिन लाग्छ । त्यसलाई भुट्नु पो त पर्छ । तिहुनमा नून धेरै नहाल्नुहोस् बरू बिलिनै असल मान्नुहुन्छ…, दूध एक झल्को मान्न उम्लेको – चिनी थोरै परेको … ।’

नयाँ दुलहीले काम बिगार्दा फरियाको फुर्को मुखमा बुजो हालेर उता फर्केर हाँस्थिन् ।

दिउँसो भाँडा माझ्दा छिमेककी नेवार्नीलाई भन्थिन्- ‘म बूढी हुन थालिछु । चाँडै थाक्छु, पानी ओसार्दा स्वाँ-स्वाँ हुन्छ । राति जीउ कटकटी खान्छ । अब कक्रक्क परेर गुँडुलिएर बस्नुपर्ने भएछ ।’



प्रतिक्रिया दिनुहोस्