Logo

ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट



काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट भएका छन् । ओलीलाई सत्ताबाट हटाउन खोज्दा भारतले साथ दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् ।

ढुंगागिट्टी निकासी गर्ने ओली सरकारको निर्णयसँग समेत ओलीविरोधी गठबन्धनका नेताहरुले भारतलाई जोडेका छन् । भारतप्रति संकेत गर्दै ओलीले कसैलाई रिझाउन निर्णय लिएको विज्ञप्तिमार्फत् नै भनेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि भारतप्रति असन्तुष्ट छन् । उनले ओलीलाई भारतको टाङमुनी छिरेको अभिव्यक्ति दिएका थिए । भारतकै कारण ओली सरकार टिकेको भन्दै देउवाले विश्वासपात्रहरुसँग असन्तुष्टि पोख्ने गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक भारतप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले जसपासँग मिलेर सरकार बनाउँदा भारतलाई पनि कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए । तर, ओलीलाई भारतले साथ दिएको भन्दै खुलेरै आलोचना गरेका थिए । पछिल्लो समय उनी सार्वजनिक रुपमा भारतबारे मौन छन् । तर, बाह्य शक्तिले परिवर्तन उल्टाउन खोजेको भन्दै घुमाउरो तरिकाले भारतप्रति असन्तुष्टि देखाउने गरेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले खुलेरै भारतको सत्तारुढ दल भाजपा र राष्ट्रिय स्वयंसेवक संघको लेखमार्फत् आलोचना गरे । उनले भाजपामाथि नेपालमा परिवर्तन उल्टाउन खोजेको आरोप लगाए । भारतको संत्तापक्षले ओलीलाई साथ दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नेकपा एमालेको माधव नेपाल पक्षधरभित्र पनि भारतप्रति असन्तुष्टि छ । स्वयं नेपाल पछिल्लो समय भारतप्रति असन्तुष्ट भएको बुझिएको छ ।

उपेन्द्र यादव पनि भारतप्रति असन्तुष्ट देखिएका छन् । जसपाभित्र फुटको अवस्थापछि उनी झन् असन्तुष्ट देखिएका छन् ।

अहिले ओली भारतको प्रीय बनेको विषय भारतका पूर्वकुटनीतिज्ञहरु श्यामशरण देखि रणजीत रेसम्मले उठाएका छन् । तर, दुवै पूर्वकुटनीतिज्ञहरु भारतको संस्थापन पक्ष विरोधी मानिन्छन् । अहिले नेपालको राजनीतिमा भारतको साथ ओलीले पाइरहेको र विरोधी गठबन्धन त्यसप्रति असन्तुष्ट बनिरहेको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्