Logo

आँप र लिच्चीको मूल्य बढ्यो



काठमाडौं, जेठ २४। उत्पादन घटेको र आपूर्ति व्यवस्था राम्रो हुन नसक्दा आँप र लिच्चीको मूल्य गतवर्षको तुलनामा वृद्धि भएको पाइएको छ । यसवर्ष आँपको जस्तै लिच्चीको पनि उत्पादन खासै राम्रो हुन नसकेको यसमा संलग्न किसान तथा व्यवसायीहरूले बताएका छन् ।

कुलेश्वर फलपूल बजार विकास समितिका प्रमुख अमर बानियाँले यसवर्ष लिच्चीको उत्पादन घटेकाले झापा, धादिङ, नवलपुरलगायत जिल्लाबाट बजारमा लिच्ची आपूर्ति तुलनात्मक रूपमा घटेको बताए । नेपाली लिच्ची मात्रै नभएर भारतीय लिच्चीको समेत आपूर्ति घटेको उनी बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचिअनुसार गतवर्ष यस समयमा मालदह आँपको थोक औसत मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको थियो भने यसवर्ष मूल्य बढेर १ सय ५० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी कलकत्ते आँपको मूल्य गतवर्षको यो समयमा प्रतिकिलो ६० रुपैयाँ किलो थियो भने अहिले १ सय २५ रुपैयाँ पुगेको पाइएको छ ।

आँपको जस्तै लिच्चीको मूल्य पनि गतवर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको पाइएको छ । विकास समितिको मूल्य सूचिअनुसार गतवर्ष प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेको लिच्चीको मूल्य यस वर्ष बढेर ३ सय १० रुपैयाँ पुगेको छ । लिच्चीको दाना लाग्ने समयमा नै परेको असिना पानीका कारण यस वर्ष उत्पादन घटेको बताइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्