Logo

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद



काठमाडौं, जेठ २४ । अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ। राष्ट्रपति विद्यादवी भण्डारीले आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो।

अध्यादेशको दफा ३ मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याए तीन वर्ष कैद वा रु तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। यस्तै अध्यादेशमा स्वास्थ्य संस्यामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

यसैगरी स्वास्थ्य संस्थामा तालबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्‍याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमको धम्कि दिए, गालीगलौच गर्न वा अभद्र र अपमानजनक व्यवहार गर्न गरे एक वर्षसम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ।

यस्तै स्वास्थ्य संस्थाको सम्पत्ति तोडफोड, आगजनी, वा हानी नोक्सानी गरी क्षति पुर्‍याएमा त्यसरी भएको क्षति बराबरको रकम भराउनुपर्ने उल्लेख अध्यादेशमा गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्