Logo

ओली र नेपाललाई मिलाउन बामदेव सक्रिय, एकताका लागि यस्तो सुत्र तयार



काठमाडौं, २४ जेठ । नेकपा एमालेको एकता जोगाउन बामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले एकता पक्षधर नेतहरुसँग नियमित भेटघाट गरेर अभियान बढाएका हुन् ।

गौतमसँग एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नियमित भेटघाट गर्दै आएका छन् । कुनैबेला एमालेबाट माले फुट्दा बामदेवको साथमा गएका घनश्याम भुसाल र योगेश भट्टराईका अलावा लामो समय माधवकुमार नेपालनिकटस्थ रहेका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको पनि भैंसेपाटी ओहोरदोहोर हुने गरेको छ । यी नेताहरुसँगको समन्वयमा गौतमले एमाले फुटबाट जोगाउन सक्रियता बढाइरहेका छन् ।

एमाले कुनै हालतमा फुट्न दिन नहुने बरु विभिन्न विकल्पमा छलफल गरी सहमति गराउनुपर्ने सुत्रहरु गौतमले तयार गर्दै आएका छन् । उनले विगतमा पनि नेकपा फुट जोगाउन सुत्र नै प्रस्तुत गरेका थिए । यसपटक गौतमकै पहलमा २ जेठ २०७५ को अवस्थामा शर्तसहित केपी शर्मा ओली फर्कन तयार देखिएका हुन् । त्यसका लागि उनले मध्यस्थकर्ताको भूमिका निभाइरहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काउने, ६ महिनाभित्र महाधिवेशन गरी नयाँ पीढीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने, बरु सरकारमा जाँदा या सरकारको महत्वपूर्ण पदमा जाने अवस्थामा अहिलेकै नेताहरु जाने गरी सहमतिको सुत्र गौतमले तयार गरेका छन् । वैकल्पिक नेतृत्वसहित अगाडि बढ्नेबारे गौतमको प्रस्तावमा भित्र भित्रै छलफल बढेको बुझिएको छ ।

एमाले विभाजन भएमा चुनाव कठिन हुने, एमाले एक्लैले चुनाव लड्दा पनि कठिन हुने निष्कर्ष निकाल्दै माओवादी केन्द्रसँग पनि एकता गरेर बढ्नुपर्नेबारे छलफल बढाइएको छ । एमालेका ४ शिर्ष नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमका अलावा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संरक्षक मानेर एउटै कम्युनिस्ट पार्टी बनाई नेतृत्व हस्तान्तरण गर्ने गरी बढ्न समेत गौतम सुत्रसहित बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot