Logo

भीम रावलले सुदूरपश्चिममा देखाए शक्ति, एमालेका दुई तिहाई सांसदको भोट क्रस



काठमाडौं, २५ जेठ । केन्द्र देखि सात प्रदेशसम्म नेकपा एमालेका सांसदहरुको संरचनाको अवस्था सुदूरपश्चिम प्रदेशमा मात्र माधवकुमार नेपाल खेमा बलियो अवस्थामा छ । संसदीय दलमा पनि नेपाल समूहको पार्टीभित्र भारी बहुमत छ । यसको मुख्य कारण भीम रावल हुन् ।

रावल नेकपा एमालेबाट निष्काशित भइसकेका छन् । उनी नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । सुदूरपश्चिम प्रदेशका इञ्चार्ज पनि थिए । निष्काशन गरिएपनि रावलको शक्तिमा कमी आएको छैन । उनले आज सुदूरपश्चिम प्रदेशमा आफ्नो शक्ति प्रदर्शन गरे ।

एमाले पार्टीले ह्वीप जारी गरी नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टले विश्वासको मत लिने क्रममा विपक्षमा मतदान गर्न भनेको थियो । तर, एमालेको माधव नेपाल समूहका १७ जना प्रदेश सभा सांसदले ह्वीप उल्लंघन गरे । यो २५ जना प्रदेश सभा सदस्य रहेको एमालेको दुई तिहाई भन्दा बढी संख्या हो ।

यसअघि सुदूरपश्चिम प्रदेशमा एमालेबाट मन्त्री भएकालाई फिर्ता हुन केन्द्र देखि प्रदेश कमिटीले निर्देशन दिएको थियो । तर, संसदीय दलका नेता प्रकाश शाहीले अस्वीकार गरे । शाही भीम रावलनिकट नेता हुन् । रावलले सुदूरपश्चिममा निकै बलियो प्रभाव बनाएका छन् । उनलाई धेरैले शेरबहादुर देउवापछि सुदूरपश्चिममा सबैभन्दा बलियो नेताका रुपमा लिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्