Logo

१६ सांसदको ठाकुर खेमालाई १० मन्त्रीः ओलीको कमजोरी कि चार्तुयता



काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदा ३ मन्त्री दिएका थिए । उक्त पार्टीले प्रतिनिधि सभामा १६ सिट जितेको थियो । १६ सिटसहितको दललाई उनले एक राज्यमन्त्रीसहित ३ मन्त्री दिएका थिए । यादव, मोहम्मद इस्तियाक राई मन्त्री थिए भने डा. सुरेन्द्र यादव राज्यमन्त्री थिए ।

ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रका ७ जनालाई मन्त्री बनाएका थिए । माओवादी केन्द्रले प्रतिनिधि सभामा ५३ सिट जितेको थियो ।

नेकपा एमालेको १२१ सिटमध्ये माधवकुमार नेपाल पक्षका ४० सांसद थिए । उनी पक्षधर २ जनालाई मात्र ओलीले मन्त्री बनाए ।

विगतमा मन्त्रिमण्डल बनाउँदा ओलीले प्रतिनिधि सभामा बढी सिट ल्याएकालाई पनि निकै कम मन्त्री दिएका थिए । त्यसमा पनि मन्त्रालय खासै महत्व भएका परेका थिएनन् ।

यसपटक १६ सिट रहेको जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमालाई ओलीले १० मन्त्री दिए । जसमा ८ मन्त्री र २ राज्यमन्त्री छन् । ओलीले विगतमा ५३ र ४० सिटको मजबुत खेमालाई योभन्दा कम मन्त्री दिएकोमा जसपाको ठाकुर समूहलाई १० मन्त्री दिनुमा उनको कमजोरी, वाध्यता हो या चार्तुयता ? चासोको विषय बनेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल खेमा एकजुट भई ओलीविरुद्धको गठबन्धन बनाएपछि उनका लागि ठाकुरको साथ अपरिहार्य भयो । ठाकुरले पनि यही मौकामा बार्गेनिङ गर्न पाए । यसअघि उठाउँदै आएको मुद्दा सम्बोधन गर्द लगाए । त्यतिमात्र नभई १० मन्त्री लिइछाडे । कतिपयले यसलाई ओलीको निरिहता भन्न थालेका छन् ।

ओली चतुर नेता हुन् । उनले विगतमा पनि पूर्वमाओवादी केन्द्रका ७ जनालाई मन्त्री बनाएका थिए । तर, उनीहरु अदालतको आदेशबाट हटे । ओलीले उनीहरुलाई पुनः नियुक्त गर्न सक्थे गरेनन् । यसमा पनि ओलीको चार्तुयता रहेको चर्चा चल्न थालेको छ । परिस्थिति आफ्नो अनुकूल बनाउन अन्तिम समयमा सम्झौता गर्ने र अवस्था फरक भएलगत्तै सम्झौतालाई नजानिदो तरिकाले तोड्ने ओलीको शैली छ । उनले प्रचण्डसँगको सम्झौता देखि उपेन्द्र यादवसँगको सम्झौतामा त्यस्तै गरे । जसपाको ठाकुर पक्षलाई पनि त्यस्तै नगर्लान् भन्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot