Logo

तिब्बती निर्वासित सांसदसहितको सम्मेलनमा ‘झुक्याएर लगेको’ मन्त्री मियाको स्पष्टोक्ति (विज्ञप्तिसहित)



काठमाडौं, २५ जेठ । युवा तथा खेलकूदमन्त्री एकबाल मियाले दलाई लामा प्रमुख अतिथि रहेको लातभियाको कार्यक्रममा आफूलाई झुक्याएर लगिएको स्पष्टोक्ति दिएका छन् । उनले एउटा कार्यक्रम भनेर अर्को कार्यक्रममा लगिएको लातभिया पुगेपछि मात्र थाहापाएको स्पष्टोक्ति दिएका हुन् ।

मन्त्री भएपछि उनी दलाई लामा प्रमुख अतिथि रहेको तिब्बत एन्ड द इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन्स अन तिब्बत सम्मेलनबारे विषय उठान भएपछि विज्ञप्तिमार्फत् भनाई सार्वजनिक गरेका हुन् । दलाई लामाले उक्त कार्यक्रममा भारतको हिमाञ्चलस्थित धर्मशालाबाट भर्चुअल माध्यमले बोलेका थिए ।

‘एउटा कार्यक्रम भनी अर्को कार्यक्रममा झुक्याएर लगिएको मैंले लातभिया पुगेपछि जानकारी पाएँ,’ मियाले विज्ञप्तिमार्फत् भनेका छन्,‘मैंले संसदलाई आफूलाई झुक्याएर लगिएको र थाहा पाएपछि फर्किएको स्पष्ट पारेको हथिएँ ।’ उनले स्पष्ट पारिसकेको विषयमा अहिले प्रश्न उठाउनु अनावश्यक भएको बताए ।

आफू नेपाल सरकारको निरन्तरको एक चीन नीति प्रति स्पष्टटा साथ प्रतिवद्ध भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तिब्बत स्वशासित क्षेत्र र चीनको अभिन्न अङ्गको भन्नेमा स्पष्ट छु ।’

लातभियाको राजधानी रिगामा २ वर्ष अघि भएको सम्मेलनमा तत्कालीन राजपा सांसद मिया, समाजवादी पार्टी नेपालका तत्कालीन सांसद प्रदीप यादवलगायत पुगेको विषयले निकै विवाद जन्माएको थियो ।

तिब्बतको निर्वासित सांसदहरुको सहभागितामा सम्मेलन आयोजना भएको थियो । जसमा नेपालबाट यादव र मियाको सहभागिता भएको थियो । नेपालसहित अष्ट्रेलिया, न्युजिल्यान्ड, फ्रान्स, रोमानिया, क्यानडा, चेक रिपब्लिक, लिथुवानिया, भारत, चिली, लातभिया, बेलायत र स्कटल्यान्डका २५ सांसदसहित एक सय जना सम्मेलनमा सहभागी थिए । सम्मेलनमा तिब्बती निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गे पनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्