Logo

विगतको तुलनामा आलु र प्याजको उत्पादन बढ्ने अनुमान



काठमाडौं, जेठ २६ । सरकारले यस वर्ष आलु र प्याजको उत्पादन बढ्ने अनुमान गरेको छ । देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको र विगतका वर्षमा भन्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कृषिमा भित्रिएको आधुनिक प्रविधिसँगै कृषि पेशा अँगाल्ने र व्यावसायिक खेती गर्ने क्रम बढेकाले उत्पादन बढेको अनुमान गरिएको हो ।

गत आवको तुलनामा यस वर्ष आलु र प्याज खेती गरिएको क्षेत्रफल, उत्पादकत्व र उत्पादन बढेको पाइएको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा गत आवको भन्दा २ लाख ८१ हजार २ सय ८९ मेट्रिकटन आलु धेरै फल्ने अनुमान गरिएको छ । गत आवमा १ लाख ९३ हजार ९ सय ९६ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३१ लाख १२ हजार ९ सय ४६ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

चालू आवमा २ लाख ९९ हजार ४१ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३३ लाख ९४ हजार २ सय ३६ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको केन्द्रले बताएको छ । त्यसैगरी उत्पादकत्व समेत बढेर प्रतिहेक्टर १६ दशमलव ०५ बाट १६ दशमलव १७ पुगेको छ ।

केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन भइसकेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको त्यसको अन्तिम ड्राप्mट तयार गर्ने काम गरिरहेको छ । अहिले उपलब्ध गराइएको तथ्यांक अनुमानित भए पनि धेरै तलमाथि नहुने उनले बताए ।

केन्द्रको तथ्यांकअनुसार गत आवको भन्दा चालू आवमा ३ हजार ८ सय ६४ मेट्रिकटन प्याज उत्पादन धेरै हुने देखिएको छ । गत आवमा कुल २० हजार ९ सय ८ हेक्टर जमीनमा प्याज खेती गरिएकोमा २ लाख ९१ हजार ५ सय ३८ मेट्रिकटन उत्पादन भएको थियो । चालू आवमा २० हजार ४ सय २४ हेक्टर जमीनमा खेती गरिएकोमा २ लाख ९५ हजार ४ सय २ मेट्रिकटन उत्पादन भएको छ । उत्पादकत्व पनि बढेर १३ दशमलव ९४ बाट १४ दशमलव ४६ पुग्ने बताइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्