Logo

फैसलाको प्रतीक्षामा विपक्षी गठबन्धन



काठमाडौं, जेठ २६ । प्रधानमन्त्री केपीशर्मा ओलीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि विपक्षी गठबन्धन सांसद सर्वोच्च अदालतमा रिट दायर गरेर फैसलाको पर्खाइमा रहेको छ । विपक्षी पाँचदलीय गठबन्धनका १ सय ४६ जना सांसदले संसद् पुनःस्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेर फैसलाको प्रतीक्षामा रहेका छन् ।

विपक्षी गठबन्धनले संसद् पुनःस्थापित गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेका छन् । विपक्षी गठबन्धनका १ सय ४९ जना सांसदले हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेका थिए ।

तर, उक्त दाबी अस्वीकार गर्दै राष्ट्रपतिले विश्वासको मत गुमाउनुभएका केपीशर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्दै संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुभएको थियो । संसद् पुनःस्थापना गर्नुपर्ने मागमा सत्तारूढ दल नेकपा एमालेकै २३ सांसदले सर्वोच्च अदलतमा दायर रिटमा हस्ताक्षर गरेका छन् ।

विपक्षी गठबन्धनले देशभित्र कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिएका कारण सडक आन्दोलनमा नजाने नीति लिएको छ । संसद् विघटनविरुद्ध जेठ १० गते १ सय ४६ सांसद स्वयम् सर्वोच्च पुगेर रिट दायर गरेका थिए । तर, सर्वोच्चमा रिट दायर भएको दुई साता बितिसक्दासमेत बहसले गति लिन सकेको छैन ।

संवैधानिक इजलास गठनको विषयलाई लिएर शुरू भएको विवादका बीच गत आइतबार वरिष्ठताको आधारमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्