Logo

एमालेमा तेस्रो शक्तिशाली भीम रावल



काठमाडौं, २६ जेठ । नेकपा एमालेमा को कति शक्तिशाली छ भन्ने अहिलेको शक्तिसंघर्षले देखाएको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्षले यी दुई नै मुख्य शक्ति भएको प्रमाणित भइसकेको छ ।

एमालेमा ओली सबैभन्दा शक्तिशाली छन् । उनीसँग पार्टीको ५५ प्रतिशत पकड देखिन्छ । विघटित प्रतिनिधि सभामा ओलीसँग ८० प्रतिशत भन्दा बढी पकड देखिएको छ । तर, प्रदेशमा पुग्दा ७० को हाराहारीमा मात्र देखिन्छ । स्थानीय तहमा घटेर ६० प्रतिशत मात्र रहेको देखिन्छ । तल्लो तहको कार्यकर्तामा भने आधा आधा जस्तो छ ।
माधव नेपालको पकड तल्लो तहका कार्यकतामा छ । स्थानीय तह र प्रदेशमा पनि उनको एमालेभित्र बलियो पकड छ । केन्द्रमा हस्तीहरु पनि उनको साथमा छन् । विघटित प्रतिनिधि सभाका सांसदमध्ये भने ओली बलियो छन् ।

एमालेभित्र बामदेव गौतमको पनि केही पकड छ । तर, पछिल्लो समय उनको शक्ति घट्दै गएको देखिन्छ । गौतम एकता अभियानमा छन् । गौतम पकडका हिसाबले विगतमा तेस्रो स्थानमा थिए । तर, अहिले उनको शक्ति घटेको देखाउँछ ।

एमालेभित्र तेस्रो शक्तिशाली भीम रावल देखिएका छन् । उनको सुदूरपश्चिममा केपी शर्मा ओलीको भन्दा बढी प्रभाव छ । रावल नेकपा एमालेबाट निष्काशित भइसकेका छन् । तर, उनको एमालेभित्रको पकड निकै रहेको मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदा देखिइसकेको छ ।

रावलले नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित हुँदा बामदेव गौतम र विद्यादेवी भण्डारीभन्दा बढी मत ल्याएका थिए । उनले केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म कार्यकर्तामाझ पकड बनाएको देखिन्छ । एमालेभित्र रावल ओली र नेपालपछि तेस्रो शक्तिशाली बनेका छन् । सुदूरपश्चिममा एमालेका २५ सांसदमध्ये १७ जनाले पार्टी ह्वीप उल्लंघन गरेका थिए । त्यसमा रावलकै मुख्य भूमिका थियो ।

रावलले लामो समययता ओलीको चर्को आलोचना गर्दै आएका छन् । उनी जुझारु नेताका रुपमा परिचित हुँदै आएका छन् । धेरैले उनलाई कम्युनिस्ट पार्टीको भावी नेताका रुपमा पनि लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot