Logo

स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन



काठमाडौं, २६ जेठ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन संगै आईसोलेशन सेन्टरको निरक्षण गरेको हुन् । काठमाडौं लोकन्थलीस्थित मुनरक ईन्टरनेशनल प्रा.ली ले उक्त प्लान्ट जडान गरेको हो ।

उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतितिनिधिहरुलाई बधाई तथा धन्यवाद समेत दिए । उनले भने,‘तपाईहरुको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ । यो खुशीको खबर हो । तपाईहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको भन्दै पुनः बधाई दिए ।

उनले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाएका छन् । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई रहेको छ । मन्त्री तामाङले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए । प्लान्ट उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउँदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहनसमेत आग्रह गरे ।

कार्यक्रममा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी श्री मुनरक ईन्टरनेशनल प्रा.ली.का प्रवन्ध निर्देशक ई. प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताए । उनले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी दिए । उनले दश दिनभित्रै प्लान्ट जडान गर्न सकिने पनि बताएका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गरेकी छन् ।

त्यस्तै, कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । उनले यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे ।
त्यस्तै, चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।

उक्त आयोजनाको प्रोजेक्ट मेनेजर पिक्सन ईन्जिनियरिङ सोलुसन प्रालिका प्रबन्ध निर्देशक विनय क्षेष्ठले सबैको सयुक्त प्रयासबाट तोकिएको समय भन्दा आधा समय मै काम गर्न सकिएको भन्दैै सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनिधि लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्