Logo

मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु



२६ जेठ : कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार हुनु भएको छैन ।

मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ । राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा हुनुहुन्छ । यस दलको संसदमा बलियो बहुमत रहेको छ ।

विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।
खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहनु भएको छ । चुनावी पर्यवेक्षकहरुका अनुसार उहाँको स्थिति निकै कमजोर छ । उहाँले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताउनु भएको छ ।

मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ । मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ ।

मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन ।–एपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्