Logo

नयाँ सत्ता समिकरणमा कस्ले के पायो के गुमायो



काठमाडौं, २६ जेठ । यतिबेला केन्द्र देखि प्रदेश सम्म सत्ता संघर्ष चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विरोधी गठबन्धनबीचको सत्ता संघर्षले दल र तीनका गुटमा ध्रुवीकरण चलिरहेको छ । यस क्रममा पाउने र गुमाउने क्रम चलिरहेको छ ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सत्ता जोगाएको छ । यसका लागि एमालेका सांसदहरुको फ्लोर क्रस नै भएको छ । माओवादी केन्द्रले पछिल्लो समय नयाँ गठबन्धनबाट एकपछि अर्को लाभ लिइरहेको छ ।

जनता समाजवादी पार्टी विभाजित भएको छ । जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवको खेमा प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा विभाजित छ । ठाकुर समूह केन्द्र सरकारमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सहभागी भएको छ । यो उसको ठूलो सफलता हो । तर, ठाकुर खेमाले जसपाभित्र फुटको सामना गर्नुपर्ने देखिएको छ ।

ठाकुर खेमाका २ मन्त्री र २ राज्यमन्त्री प्रदेश २ सरकारबाट हटाइएका छन् । त्यहाँ जसपाको उपेन्द्र यादव खेमाले काँग्रेस र माओवादी केन्द्रसँग सत्ता समिकरण गरेको छ ।

नेपाली काँग्रेसले नयाँ गठबन्धन बनेपछि केन्द्रमा प्रधानमन्त्री पदका लागि संघर्ष गरिरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासले असारको दोस्रो हप्ता किनारा लगाउने भएपछि अन्तिम टुंगो लाग्नेछ ।

काँग्रेस कर्णाली प्रदेश र प्रदेश २ मा सरकारका सहभागी भएको छ । साँढे तीन वर्षपछि काँग्रेस पहिलोपटक सरकारमा सहभागी भएको हो ।

नेकपा एमालेले केन्द्र सरकारमा ठूलो चुनौतीको सामना गरिरहेको छ । प्रतिनिधि सभा विघटनको मुद्दा विचाराधीन छ । सत्ता संकट टार्न ओलीले जसपाको महन्थ ठाकुर खेमालाई १० मन्त्री दिनुपरेको छ । आफ्नै दलको एकमना सरकार रहेन । अर्कोतर्फ, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।

अहिलेको सत्ता संघर्षले सबैभन्दा ठूलो नोक्शानी नेकपा एमाले र जनता समाजवादी पार्टीलाई परेको छ । दुवै पार्टी विभाजित अवस्थामा छन् । फुटिसकेका छन् औपचारिकता मात्र बाँकी छ । एमालेको दुई तिहाई हुँदै बहुमतमा झरेको शक्ति अल्पमत हुँदै कमजोर अवस्थामा पुगेको छ । जसपा पनि निकै कमजोर बन्दै गएको छ । यही अवस्था रहेमा दुवै दलले आगामी चुनावमा ठूलो धक्का खानुपर्ने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot