Logo

चार्जिङ स्टेसनको प्रारम्भिक काम सुरु



काठमाडौं, जेठ २७ । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो ।

निर्माण जिम्मा पाएको चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलाजीले चार्जिङ स्टेनसन निर्माण गरी चार्जिङ मेसिन जडान गर्नेछ । सर्भेपछि चीनबाट मेसिन ल्याउने तयारी भइरहेको तर कोरोना महामारीको निषेधाज्ञाले प्रभावित भइरहेको प्राधिकरणका परियोजना प्रबन्धक सागर ज्ञवालीले बताए । कोरोनाका कारण निर्माणस्थलमा गएर गर्नुपर्ने कामहरू प्रभावित भएका छन् ।

सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गरेपछि प्राधिकरणले चार्जिङ स्टेसन निर्माण अघि बढाएको हो । प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा ५० वटा स्टेसन निर्माणका लागि ३८ करोड रुपियाँमा निर्माण सम्झौता गरेको हो । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता छ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । ५० स्टेसनमध्ये सात प्रदेशमा पाँचरपाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकता अनुसार पूर्व–पश्चिम राजमार्गमा राखिनेछ । १२० किलोवाट र ६० किलोवाटसम्मका सवारी साधनका लागि छुट्टाछुट्टै चार्जिङ सुविधाको व्यवस्था गरिनेछ ।

साधारण चार्जर प्रविधिले एउटा सवारी साधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्दछ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारी साधन बढीमा डेढ घण्टामा चार्ज हुनेगरी स्टेसन निर्माण हुने प्राधिकरणले जानएको छ । पूर्ण चार्ज भएका सवारी साधन ३५० किलोमिटरसम्म गुड्न सक्छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्