Logo

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश



काठमाडौं, जेठ २७ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राजदूत रेग्मी तथा उनकी धर्मपत्नी चन्द्रकला रेग्मी बग्गी चढेर बुधबार बकिङ्गघम राजदरबार पुगेका थिए। त्यसपछि बकिङ्गघम राजदरबारमा आयोजित एक समारोहमा राजदूत रेग्मीले भिडियो लिंकबाट विन्डसर राजदरबारमा रहेकी महारानी एलिजाबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।

उक्त अवसरमा महारानी एलिजाबेथले नेपालमा कोभिड १९ ले परेको असर तथा खोपको अवस्थाबारे राजदूत रेग्मीसंग जानकारी लिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। महारानीले ब्रिटिश सरकारले नेपालको विकास प्रयासमा सघाउने विषयलाइ प्राथमिकता दिएको बताएको पनि दूतावासले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्