Logo

यो बर्षको मनसुनबाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने



काठमाडौं, जेठ २८ । ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो) बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपालसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविद्ले औंल्याएका छन् ।

‘बंगाल खाडीआसपास विकसित हुनेक्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिड महामारीले विगतभन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ,’ उनले भने, ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ, यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’

विगतको तथ्यांक विश्लेषण आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट १ लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झन्डै ४ सय मानिसको मृत्यु भएको थियो । १ हजार १ सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्ययोजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्