Logo

नगरपालिकाद्वारा शैक्षिक प्रमाणपत्रका आधारमा पाँच लाखसम्म ऋण



सिन्धुलीमाढी, जेठ २८ । सिन्धुलीको कमलामाई नगरपालिकाले शैक्षिक प्रमाणपत्रका आधारमा बिनाधितो निब्र्याजी पाँच लाख रुपियाँसम्म ऋण दिन सुरु गरेको छ ।

कमलामाई नगरपालिका–५ निवासी सुनिता श्रेष्ठलाई उच्च शिक्षा सीए अध्ययन गर्न बुधबार ऋण उपलब्ध गराएको कमलामाई नगरपालिकाले जनाएको छ । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले नगर स्वरोजगार कार्यक्रमअन्तर्गत श्रेष्ठलाई उच्च शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराएको जानकारी दिए ।

उनले भने, “ती छात्राले काठमाडौँको माइल स्टोन कलेजबाट होस्टल सुविधासहित छात्रवृत्तिमा कक्षा ११ र १२ पढेकी रहिछन् । सीए पढ्न भर्ना भएको, पढ्न पनि जान्ने तर घरको आर्थिक अवस्था कमजोर भएको पाइएकाले ऋण उपलब्ध गराएका हौँ । ”

अभिभावकले किस्ता तिर्नसक्ने सुनिश्चितता गरेमा अन्य गरिब, जेहेनदार र इमानदार, पढ्न सक्ने छात्रछात्रालाई उच्च शिक्षा पढ्न शैक्षिक प्रमाणपत्रका आधारमा बिनाधितो र निब्र्याजी उक्त ऋण उपलब्ध गराइने नगरप्रमुख खत्रीको भनाइ थियो ।

नगरपालिकाले नगर स्वरोजगार कार्यक्रमअन्तर्गत सुनितासँगै बुधबार थप ११ जनालाई उद्यम–व्यवसाय सञ्चालनका लागि बिनाधितो निब्र्याजी दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म ऋण उपलब्ध गराएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्