Logo

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु



विराटनगर, २८ जेठ: प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।

प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल शुरु भएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए ।

प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम, रामकुमार राई, शिवनारायण गनगाँई, शेखरचन्द्र थापा, सञ्जाकुमारी दनुवार र सूयर्माराज राईले सरकारको नीति तथा कार्यक्रम जनता र जनप्रतिनिधिलाई ढाँट्ने दस्तावेज भएको बताए । उनीहरुले प्रदेश सभा गठन भएको समयमा प्रदेशको आर्थिक वृद्धि दर सात दशमलव चार, त्यसपछि छ दलमलव छ र अहिले तीन दशमलव चार भएपछि कसरी प्रदेश समृद्ध हुन्छ भनी प्रश्न गरे । आकर्षक नारा राख्ने र त्यसलाई पूरा गर्न बजेटको व्यवस्था नहुँदा समस्या देखिएको उहाँहरुको भनाइ छ ।

उनीहरुले नीति तथा कार्यक्रममा कमिलादेखि हात्तीसम्मको गफ रहेको तर त्यसको पूरा गर्ने खासै योजना र बजेट नदेखिएकाले सरकार यर्थाथपरक बजेट ल्याउनुपर्ने सुझाव दिदैं सरकार सत्य र तथ्यको आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिए ।

अर्का सदस्य विमल कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भन्दै सोच र योजना नबनाई विकासमा फड्को मार्न नसकिने भने । उनले विगतमा गैर बजेटरी खर्चले वास्तविक योजनाहरु धरापमा परेकाले अव उप्रान्त कार्यक्रम र योजना बाहेकमा खर्च नगर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रदेश सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः३० मा बस्ने छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्