महेश बस्नेतको प्रश्न : गान्धीलाई जस्तै केपी ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त ?


काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो नेताको रक्षाको लागि एमालेका कार्यकर्ता जे पनि गर्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । बैद्यको यस्तो अभिव्यक्ति आएपछि नेता बस्नेतले आक्रोश पोख्दै बैद्यलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् । बैद्यलाई पक्राउ नगरी जनताको आक्रोश प्रकट भएर सडकमै प्रतिरोध गर्न सक्ने पनि उनले बताएका छन् ।

नेता बस्नेतले फेशबुकमा लेखेका छन्-“माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिराेध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।”