Logo

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा पोखरेलको दाबी



पोखरा, जेठ २९ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएको छ। प्रदेश प्रमुखबाट शुक्रबार अपराह्न संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान भएपछि गठबन्धनले दाबी प्रस्तुत गरेको हो।

गठबन्धनले प्रदेशसभाका ३१ सदस्यको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली)लाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सीता पौडेल समक्ष प्रस्ताव गरेको छ। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि ६० सदस्यीय प्रदेशसभामा ५९ सदस्य छन्।

३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरिएको नेपालीले बताए। स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० ले पनि गठबन्धनको प्रस्तावमा हस्ताक्षर गरेका छन्। नेपालीलाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) का २, जनमोर्चाका २ र स्वतन्त्र एक सांसदले हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। उनीहरूले प्रदेश प्रमुखकै अगाडि हस्ताक्षर सनाखत गर्न माग गरेपछि प्रदेश प्रमुखको कार्यालयले त्यसको व्यवस्था गरेको थियो। ‘हाम्रो आग्रहलाई प्रदेश प्रमुखले स्वीकार गर्दै सनाखतको व्यवस्था गरिदिनु भयो र सशरीर पुगेका हामीले सनाखतका लागि हस्ताक्षर गर्‍यौं’, माओवादी केन्द्र संसदीय दलका उपनेता रामजीप्रसाद बरालले भने।

हस्ताक्षर बुझाएपछि नेपालीले आफूहरूले प्रक्रिया पुर्‍याएर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेकाले नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको बताए। प्रदेश प्रमुख पौडेलले आफूले अध्ययन गरेर प्रावधान र प्रक्रिया अनुसार निर्णय गर्ने बताएको जानकारी नेपालीले दिए।

हस्ताक्षर सनाखतको एकप्रति गठबन्धनले राखेको छ। सुरुमा सनाखत प्रतिलिपि दिन नमिल्ने भनेको प्रदेश प्रमुखको कार्यालयले गठबन्धनका सांसद धर्नामा बसेपछि दिएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्