Logo

उच्च मनोवलका साथ दायित्व निर्वाह गर्न प्रहरीलाई गृहमन्त्री अधिकारीको निर्देशन



काठमाडौं, २९ जेठ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अधिकारीले प्रहरी कर्मचारीलाई जस्तोसुकै परिस्थितिको सामना गर्दै अगाडि बढ्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी प्रमुखलाई सम्बोधन गर्दै प्रत्यक्ष जीवनसँग जोडिएकाले सबैभन्दा प्रभावशाली सुरक्षा निकाय प्रहरी भएको बताए ।

साथै, गृहमन्त्री अधिकारीले घोषित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिए । कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकालाई उनले प्रशंसा गरे ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउँदै संगठनले प्राप्त गर्ने नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री अधिकारी र गृहसचिव महेश्वर न्यौपानेलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्