Logo

कृषि उपकरण ढुवानी र वितरणमा समस्या



काठमाडौं, जेठ ३० । निषेधाज्ञाका कारण कृषि उपकरण ढुवानी तथा वितरणमा समस्या देखिएको छ । उपकरणको ढुवानी र वितरणको समस्याले गर्दा धान रोपाइँ शुरू गर्ने तयारीमा रहेका किसानहरू प्रभावित भएका छन् ।

कृषि उपकरण र तिनका पार्टपुर्जाहरूको विक्रीवितरण तथा ढुवानिको समस्याले गर्दा ठूलो परिमाणमा व्यावसायिक खेती गर्ने किसानहरू बढी समस्यामा परिरहेका छन् ।

निषेधाज्ञाले गर्दा खेत जोत्न प्रयोग हुने हाइरो, हाते ट्र्याक्टर, रोटाभेटरलगायत औजारहरूको ढुवानीमा समस्या देखिएको हो । कुल कृषकमध्ये नेपालमा आधुनिक उपकरणको प्रयोगबाट खेतीपाती गर्ने किसानहरू करीब १५ प्रतिशतजति रहेको तथ्यांक छ ।

निषेधाज्ञा भएपछि कृषि उपकरणहरूको व्यापारमा ५० प्रतिशतसम्मले गिरावट आएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । उनका अनुसार ढुवानीमा समस्या भएपछि किसानहरूले बिग्रिएका कृषि उपकरण बनाउने औजारसम्म पाउन समस्या भइरहेको छ ।

ढुवानीमा समस्या भएपछि सरकारद्वारा किसानहरूलाई अनुदानमा उपलब्ध गराइने कृषि उपकरणहरूको वितरणसमेत प्रभावित भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केन्द्र, प्रदेश र स्थानीय निकायहरूले किसानहरूलाई अनुदानमा कृषि उपकरणहरू उपलब्ध गराउँदै आएका छन् ।

सरकारले चैतदेखि असार पहिलो सातासम्ममा किसानहरूलाई अनुदानमा कृषि उपकरण वितरण गर्ने गरेको छ सरकारले अनुदानमा वितरण गर्ने कृषि उपकरणहरूको ढुवानी तथा आयात पनि संघले नै गर्दै आएको छ । हरेक वर्ष सरकारले आर्थिक वर्षको अन्त्यमा उपकरण वितरण गर्दा यो कार्यक्रम प्रभावित भएको छ ।

नेपालमा चीन र भारतलगायत देशबाट करीब ३६ प्रकारका कृषि उपकरण आयात हुने गरेका छन् । गतवर्ष मात्र नेपालमा करीब ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी मूल्यका कृषि उपकरण आयात गरिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक रहेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्