Logo

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास



कैलाली, जेठ ३० । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले वर्षेनि सयौं बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरू भएपछि यस क्षेत्रका बासिन्दा नदी कटान तथा डुबानको चिन्तामा हुन्छन् । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् ।

नदीमा पानीको बहाव बढ्न थालेपछि जमीन कटान तीव्र हुँदा बस्ती नै जोखिममा पर्ने गर्दछ । कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले वर्षेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ ।

नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । ‘सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ ।

यतिखेर नदीले कटान झन तीव्र पारेको छ,’ वन समितिका अध्यक्ष धनसिंह साउदले भने, ‘जंगल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरू भएको ६ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन ।’

तटबन्ध निर्माणका नाममा भइरहेको ढुंगा उत्खननले नदी कटान तीव्र पार्दा झन् जोखिम बढेको आरोप उनले लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ ।

टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलंका, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्