Logo

एमालेबाट मुख्यमन्त्री पद धमाधम खोस्दै विपक्षी गठबन्धन



काठमाडौं, २९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफू पक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका छन् । कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुको पद सुरक्षित गरेलगत्तै विपक्षी गठबन्धन प्रदेशहरुमा आक्रामक रुपमा उत्रिएका हुन् ।

विपक्षी गठबन्धनले एमालेबाट गण्डकी प्रदेशको सरकारको नेतृत्व खोसेको छ । नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । उनले कुल ६० सांसद रहेको प्रदेश सभामा ३१ जनाको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख सीता पौडेलले शनिबार मुख्यमन्त्री नियुक्त गरी सपथ गराएकी छिन् ।

अब मुख्यमन्त्री नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । अहिलेकै गठबन्धन कायमै रहेमा नेपलाीले विश्वासको मत लिन सक्नेछन् । त्यसपछि उनी अर्को चुनावसम्म मुख्यमन्त्री हुनेछन् ।

एमालेको नेतृत्वमा रहेको प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पनि सरकार धरापमा छ । लुम्बिनीमा नयाँ सरकार निर्माणको कसरत बढिसकेको छ । शंकर पोखरेल नेतृत्वको सरकार ढाल्ने प्रयास लगभग सफल हुने सम्भावना देखिएको छ । त्यहाँ पनि विपक्षी गठबन्धन बलियो स्थितिमा छन् ।

प्रदेश १ मा शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेल नेतृत्वको सरकार परिवर्तनको लागि विपक्षी गठबन्धन रणनीति सहित बढेका छन् । प्रदेश १ र बागमती प्रदेशमा एमालेभित्रको सत्तासंघर्षले सरकार ढल्ने सम्भावना देखिएको छ ।

विपक्षी गठबन्धनमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रलाई सरकारको नेतृत्वमा साथ दिने सहमति बनिसकेको छ । प्रदेश १ र बागमती प्रदेशमा भने गठबन्धनबीच अगाडि बढ्नेबारे सहमति बनिसकेको छैन । त्यहाँ मुख्यमन्त्री कसलाई बनाउने टुंगो लागेपछि अगाडि बढ्ने गरी तयारी भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्