Logo

माधव नेपाललाई फरक ठाउँहरुबाट प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं, ३० जेठ । असारको दोस्रो हप्ताभित्र राजनीतिमा कुनै गजबको घटना घटिहाले आश्चर्य नमाने हुन्छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कदमहरु चालेर राजनीतिलाई नै तरंगित पार्ने तयारी गरिसकेका छन् ।

आफूमाथि जताततैबाट घेराबन्दी भएपछि तोड्नका लागि ओलीले नेकपा एमाले एकताका लागि विशेष प्रस्ताव गर्ने बुझिएको छ । उनले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद त्याग्ने आशयको प्रस्ताव माधव नेपालनिकट नेताहरुमार्फत् सन्देश पठाइसकेको विश्वस्त स्रोतले बताएको छ । एमाले एकताका लागि त्यहाँसम्म पुग्न तयार हुनुपर्ने सुझाव एमालेभित्रका मध्यमार्गी ओलीनिकट नेताहरुले दिइसकेको बुझिएको छ ।

(हेर्नुहोस्ःमाधव नेपाललाई प्रधानमन्त्री बनाउने सम्मको अस्त्र तयार)

१४६ जना सांसदहरुको रिटले ओलीलाई अहिले सबैभन्दा पिरोलेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विघटित प्रतिनिधि सभाका सांसदहरुको रिट देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने र प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने जिकिर गरिएको छ । ओली जसरी हुन्छ कमितमा १३ सांसदलाई रिट फिर्ता गर्न लगाएर संख्या प्रतिनिधि सभाको २६७ सांसदमध्ये बहुमत नपुग्ने १३३ या त्योभन्दा कम बनाएर मुद्दा कमजोर बनाउन खोजिरहेका छन् ।

१३ सांसदलाई रिट फिर्ता गराउन उनले माधवकुमार नेपाललाई मनाउनुपर्ने हुन्छ । त्यसका लागि एमाले पुनः एकतावद्ध हुनुपर्छ । एकताका लागि नेपालले २ जेठ २०७५ को अवस्थामा एमाले सांगठनिक संरचना रहनुपर्ने, प्रतिनिधि सभा विघटनको सिफारिशबाट पछाडि फर्कनुपर्ने शर्त राख्दै आएका छन् । नेपाल खेमाले ओलीले अध्यक्ष या प्रधानमन्त्री मध्ये एक पद पनि छाड्नुपर्ने शर्त सारेको छ ।

ओली नवौं महाधिवेशनबाट निर्वाचित सांगठनिक संरचनामा फर्कन तयार भइसकेका छन् । उनले एकता प्रस्तावमा यसलाई उल्लेख गरिसके । अर्कोतर्फ, सर्वोच्च अदालतको आदेश पनि नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको निर्णय मात्र एमालेको आधिकारिक हुने गरी आएको छ । प्रतिनिधि सभा पुनःस्थापना सर्वोच्च अदालतले गराउने संकेतहरु देखिएकै छ । अब मूल विषय ओलीले एमाले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद त्याग्नुपर्ने शर्त रहेको छ ।

विश्वस्त स्रोतका अनुसार ओलीले माधव नेपाललाई पनि अध्यक्ष बनाएर जाने पक्षमा लचकता देखाइसकेका छन् । तर, एमाले जोगाउनुपर्ने अवस्थामा उनलाई कुनै एक पद छाड्न लगाउने गरी निकटस्थहरु लागेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी एमाले एकताका लागि विभिन्न विकल्पका साथ सक्रिय भएकी छिन् । उनले ओलीलाई प्रधानमन्त्री छाड्न लगाएर माधव नेपाललाई अगाडि सार्ने गरी समेत छलफल गरेको बुझिएको छ ।

ओली खेमाबाट नेपाललाई महत्वपूर्ण प्रस्तावहरु आउन थालेपछि प्रचण्ड र उपेन्द्र यादवलगायत विपक्षी गठबन्धनका नेता नयाँ रणनीतिका साथ बढेका छन् । उनीहरुले नेपाललाई प्रधामन्त्री बनाउने गरी बढ्ने तयारी गरेका छन् ।

एमालेभित्र एकता बन्न नदिन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव पुगेको छ । यस्तो अवस्थामा ओलीबाट पनि नेपाललाई नै प्रधानमन्त्रीको प्रस्ताव आउन सक्छ । अबको १५ दिन नेपाललाई एमाले अध्यक्ष देखि प्रधानमन्त्रीको प्रस्तावहरु विभिन्न खेमा र गठबन्धनबाट आउने देखिएको छ । यही प्रस्तावहरु र उनले मान्ने या नमान्ने विषयले एमालेको भविष्यमात्र नभई राजनीतिक भविष्य समेत टुंगो लाग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्