Logo

स्वीट्जरल्यान्डमा विषादी निषेध गर्ने बारेमा मतदान



३० जेठ : युरोपेली मुलुक स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने एक प्रस्तावमा आइतबार मतदान हुँदैछ । स्वीट्जरल्यान्डमा यो सहित आतंकवाद विरोध उपाय र कोभिड–१९ का कानुन समेत विभिन्न जल्दाबल्दा विषयमा पनि मतदान हुँदैछ ।

अधिकांश व्यक्तिले हुलाक मार्फत पहिल्यै मतदान गरिसकेका छन् । आइतबार मतदान सकिए लगत्तै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको छ ।
यस पटकको मतदानमा विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने विषय सबैभन्दा पेचिलो बनेको छ । किसानहरुबीच नै यो विषयलाई लिएर तिब्र मतान्तर र बहस जारी छ ।

स्वीट्जरल्यान्डका किसानहरु विषादीको प्रयोगका विषयमा पक्ष र विपक्षमा बाँडिएको देखिएको छ । पश्चिमी भड क्षेत्रमा किसानहरुको खेतमै पुगेर एक पक्षले किसानका ट्रेलरमा आगो लगाइदिएका छन् भने हुन्छ भन्ने पक्षमा देखिएका अभियन्ताहरुले आफूहरुमाथि अपमान, धम्की र सन्त्रास फैल्याएको बताएका छन् ।

“सिन्थेटिक विषादीबाट मुक्त स्वीट्जरल्यान्ड” भन्ने पक्षधरहरुले १० वर्षभित्र स्वीट्जरल्यान्डमा विषादीमाथि प्रतिबन्ध लगाउन आह्वान गरिरहेको छ । उनीहरुले विषादी हालेका विदेशबाट आयातित खाद्यवस्तुलाई पनि गैरकानुनी बनाउनु पर्ने माग गरिरहेका छन् ।

दोस्रो, “सफा खानेपानी र स्वस्थ खाद्य” नारा लिएका पक्षधरहरुले विषादी प्रयोग नगर्ने फार्महरु तर बिरामी पशुको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरेमा सरकारी अनुदान उपलब्ध गराउनु पर्ने माग गरिरहेका छन् । खेतमा तरल मलखादको प्रयोगको मात्रा र त्यहाँबाट चुहिने तरल पदार्थ जल प्रणालीमा प्रवेश गर्ने सम्भावनालाई पनि सीमित गर्नुपर्ने हुन्छ ।

पर्यावरणविद् र दक्षिणपन्थी राजनीतिक पक्षधरहरुले दुबै मागमा समर्थन जनाएका छन् । स्वीस सरकारले आमजनताले विपक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेको छ । सरकारको भनाईमा प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भए त्यसले राष्ट्रिय खाद्य सम्प्रभुतालाई नजरअन्दाज गर्नेछ ।

शहरी मतदाताहरुले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ, र ग्रामीण क्षेत्रका मतदाताहरुले विपक्षमा मतदान गर्ने मत सर्वेक्षणले देखाएको छ । तर सर्वेक्षणले दुबै प्रस्ताव अस्वीकृत हुन सक्ने अनुमान गरेको छ ।–एएफपी



प्रतिक्रिया दिनुहोस्