Logo

विशाल भट्टराईको दाबी-“माधव नेपाल हामीसँग अब मिल्नुहुन्न, उहाँका ५ नेता आउनुहुन्छ”



काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गरेका छन् । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर विभिन्न शर्त तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ ।

तर, नेपाल पक्षका प्रभावशाली नेताहरुले भने माधव नेपाललाई कुनैपनि हालतमा साथ नदिने उनको दाबी छ । नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई नै साथ दिने पनि उनले खुलासा गरे ।

उनले भने,‘उहाँहरुसँग हामी नियमित सम्पर्क र सम्वादमा छौं । माधव नेपालले छुट्टै पार्टी गठन गरेपनि उहाँहरु अब उता जानुहुन्न । सबै नेता यता बसेपछि माधव नेपालले छोडेर केही हुँदैन् ।’ भट्टराईले नेता नेपालको तन एमालेमा भएपनि मन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ रहेको पनि टिप्पणी गरे ।

उनले माधव नेपाल विपक्षी गठबन्धनमा रहेकोले उक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनसक्ने पनि आफूहरुले आँकलन गरेको सुनाए । नेता नेपाल अहिले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनमा छन् । एमालेका दोस्रो पुस्ताका नेताहरु भने यतिवेला पार्टी एकता जोगाउने भन्दै नियमित भेटवार्तामा सक्रिय छन् ।

बरु, आवश्यक पर्यो भने एकता जोगाउनको लागि पहिलो पुस्ताका नेताहरुलाई सम्माजनक विदाई गरेर अभिभावकीय भूमिका राख्ने र दोस्रो पुस्ताका नेताहरु नेतृत्वमा हाबी हुनुपर्ने पनि उनीहरुको प्रस्ताव छ । पछिल्लो समय अध्यक्ष ओलीले नेपाल पक्षधर प्रभावशाली नेताहरुसँग बालुवाटारमा बोलाएर एक्लाएक्लै छलफलसमेत गरेका छन् । यसरी छलफल गरेका नेतामा भीम आचार्य पनि छन् । उनले केही दिनअघि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पार्टी एकता हुने र आफूहरु अन्तिमसम्मपनि त्यसकै लागि लागिपरेको बताएका छन् । उनले माधव नेपाल एक्लैले पार्टी फुटाउन नसक्ने ठोकुवा गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्