Logo

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु



राँझा, ३० जेठ: बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।

कोरोनाबाट थप पाँचको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका गरी थप पाँच सङ्क्रमितको उपचारको क्रममा गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैतडी पडचौडी नगरपालिका—८ निवासी ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका—१ निवासी ४९ वर्षीया महिला, सल्यान कालिमाटी गाउँपालिका—२ निवासी ४६ वर्षीय पुरुष र दाङ लमही नगरपालिका—१ निवासी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके बैजनाथ गाउँपालिका—५ का ६७ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ३०७ र अन्य जिल्लाबाट त्यहाँ उपचार गराउन आउँदा ३३७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्