Logo

१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप?



काठमाडौं, जेठ ३१ । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन ।

उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताइन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् ।

सरकारले आगामी मंसिरसम्म खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्मको प्रगति हेर्दा सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ । खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका देशले खोप उपलब्ध गराउने सुनिश्चितता नजनाउँदा खोप अभियान अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको हो । साथै खोप ल्याउन सरकारले आफ्ना संयन्त्रको समेत सशक्त परिचालन गर्न सकिरहेको देखिँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख ९१ हजार ४ सय ९४ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । कोभिड–१९ खोपको लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्नेहुन्छ । यसरी हेर्दा अनुमानित १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपबाट वञ्चित छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको गत २८ जेठसम्मको तथ्याकंलाई आधार मान्दा २३ लाख ८३ हजार जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् ।

कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करिब १३ लाख ५० हजार नागरिक दोस्रो डोजको प्रतीक्षामा छन् । भारत सरकारमार्फत खरिद गरिएको १० लाख डोज नआउँदा ती नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारत सरकारले तत्काल खरिद गरिएको खोप उपलब्ध गराउन नसक्ने जनाएपछि खोप अभियान प्रभावित भएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्